
नेपालगन्ज, असोज ४, २०८२ – नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठकले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, शाखाको वेबसाइट शुभारम्भ तथा सदस्यता नवीकरणसम्बन्धी निर्णय गरेको छ। यो बैठक बुधबार बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको थियो।

बैठकले नेपालीहरूको महान् पर्व विजयादशमी, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा असोज ८ गते शाखाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। यस कार्यक्रममा पत्रकारहरू, सञ्चारकर्मीहरू तथा सम्बन्धित पक्षहरूबीच चाडपर्वको शुभकामना आदानप्रदान गरिने अपेक्षा गरिएको छ।
यसैगरी, शाखाले निर्माण गरेको आफ्नो आधिकारिक वेबसाइटलाई पनि असोज ८ गतेबाटै शुभारम्भ गर्ने निर्णय गरिएको छ। यो वेबसाइटले शाखाका गतिविधि, समाचार तथा सदस्यहरूसँग सम्बन्धित जानकारीहरूलाई डिजिटल प्लेटफर्ममार्फत सहज पहुँचयोग्य बनाउने उद्देश्य राखेको छ।
बैठकले २०८१ र २०८२ सालमा सदस्यता नवीकरण गरेका १८७ जना साधारण सदस्यहरूको नवीकरण विवरण प्रदेश समितिमा पठाउने तथा सदस्यता शुल्क विधानअनुसार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र केन्द्रीय समितिको खातामा जम्मा गर्ने निर्णय पनि गरेको छ।

