
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन्।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि भदौ २७ गते राति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
त्यही राति प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्दै फागुन २१ गते आम निर्वाचनको घोषणा गरेका थिए। कार्की नेतृत्वको सरकार बनेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन व्यक्त गर्दै मणिपुरमा आयोजित एक कार्यक्रममा नयाँ सरकारको स्वागत गरेका थिए।
नवनियुक्त प्रधानमन्त्री कार्कीसँग गत मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए। भेटमा श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताएका थिए।
स्रोत : Nepal clicks
