
नेपालगन्ज, साउन १७, २०८२
दक्षिण एसियाली वाणिज्य तथा उद्योग महासंघ (South Asian Chamber of Commerce and Industry – SACCI) को अध्यक्षमा भारतको लखनऊका प्रतिष्ठित युवा उद्योगी सर्वेश पाठक सर्वसम्मत रूपमा चयन भएका छन्। भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानका उद्योग, वाणिज्य र व्यवसाय क्षेत्रको साझा संगठन SACCI को नेतृत्व अब पाठकको काँधमा आएको छ।

क्षेत्रीय व्यापार र लगानीमा नयाँ सम्भावना
पाठकको नेतृत्वमा दक्षिण एसियाको क्षेत्रीय व्यापार, औद्योगिक समन्वय, युवा उद्यमशीलता र अन्तर्देशीय लगानी प्रवर्द्धनले नयाँ उचाइ प्राप्त गर्ने अपेक्षा गरिएको छ। अध्यक्षमा चयन भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाठकले भने, “दक्षिण एसियामा अपार सम्भावना छ। हाम्रो साझा प्रयासले रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र अन्तरदेशीय आर्थिक सम्बन्धलाई नयाँ धार दिनेछ।” उनले उद्योग मेला, लगानी सम्मेलन र द्विपक्षीय व्यापार समझदारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालसँग विशेष सहकार्यको संकल्प
नेपालसँगको व्यापार र लगानी साझेदारीलाई विशेष जोड दिने बताउँदै पाठकले नेपाली युवा उद्यमी, उद्योग संघसंस्था र स्टार्टअपहरूसँग प्रत्यक्ष सहकार्य गर्ने योजना रहेको उल्लेख गरे। उनको यो प्रतिबद्धताले नेपालका व्यवसायी र युवा उद्यमीहरूमा सकारात्मक ऊर्जा र विश्वास जगाएको छ।
SACCI को यो नयाँ नेतृत्वले दक्षिण एसियाली राष्ट्रहरूबीच आर्थिक सहकार्य र समृद्धिको नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ।
