नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकलाई यथास्थितिमा अस्वीकार गर्ने

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले मिडिया काउन्सिल विधेयकलाई यथास्थितिमा स्वीकार नगर्ने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै आचार्यले विधेयकका धेरै बुँदामा महासंघको असहमति रहेको बताउनुभयो। उनले आमसञ्चार विधेयक नियमनको नाममा नियन्त्रणमुखी भएको भन्दै महासंघले विरोध जनाइसकेको स्मरण गर्नुभयो। साथै, पत्रकार महासंघको शुद्धीकरण अभियान निरन्तर चल्ने र यसपटक नवीकरणका लागि आवश्यक कागजात मागिएको जानकारी दिए।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य भएको उल्लेख गर्नुभयो। उनले संघीयताको लाभ मिडियाले पाउन नसकेको र नवलोकप्रियतावादी प्रवृत्तिको प्रहार मिडियामाथि हुने खतरा रहेको बताए।

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा मिडियामैत्री भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। काउन्सिलले प्रदान गर्ने पुरस्कारमा प्रश्न उठ्ने गरेको स्मरण गर्दै यसपटक पारदर्शी कार्यविधिमार्फत काम गर्ने प्रयास भइरहेको उहाँले भने,

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्वअध्यक्षहरू प्रेम केसी, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ललगायतले महासंघ र प्रेस काउन्सिलसँग सम्बन्धित विषयमा सुझाव र जिज्ञासा राखेका थिए।

कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गर्नुभएको थियो। अध्यक्ष गिरीले कार्यवाहक अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष पोख्रेल र काउन्सिल सदस्य अर्याललाई खादा लगाएर स्वागत गर्नुभयो। साथै, बाँके शाखाले प्रकाशित गरेको २०८२ सालको भित्तेपात्रो पनि प्रदान गरेका थिए।

Leave a Comment

सम्बन्धित खबर