
असार १८ बांके / नन्दलाल साहू

नेपालगञ्ज, बाँके – नेपालगञ्ज सुनचाँदी कालिगढ संघ, बाँकेको नेतृत्वमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा बुधबार देखि नेपालगन्जमा सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरि रिले अनसन कार्यक्रम सुरु गरेका छन्।
यो आन्दोलन सुनचाँदी र बहुमूल्य रत्नहरूमा लगाइएको कर र नीतिगत अस्पष्टताको विरोधमा गरिएको छ।
मुख्य मागहरू : १. कर खारेजीको माग : सुनमा लगाइएको २% विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लागू १३% मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न व्यवसायीहरूले माग गरेका छन्। उनीहरूका अनुसार यस्ता करहरूले व्यवसायमा अनावश्यक आर्थिक भार थपिएको छ।
२. भन्सार शुल्कमा कटौती : सुनको भन्सार शुल्कलाई अधिकतम ६% कायम गर्नुपर्ने माग राखिएको छ। हालको उच्च भन्सार दरले व्यवसायको लागत बढाएको र बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको व्यवसायीहरूको गुनासो छ।
३. प्रष्ट नीति–नियमावलीको निर्माण : सुनचाँदी र गहनाको कारोबारलाई व्यवस्थित गर्न स्पष्ट, पारदर्शी र व्यवसायमैत्री नीति–नियमावली निर्माण गर्न सरकारसँग जोडदार माग गरिएको छ। हालको अस्पष्ट नीतिका कारण व्यवसायीहरूले ज्याला र जर्तीका नाममा मनपरी शुल्क लिनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
संघको अध्यक्ष सलाउद्दीन जसगढ्का अनुसार रिले अनसन कार्यक्रम बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सञ्चालन रहनेछ। नेपालगञ्जको मुख्य सडक क्षेत्रमा आयोजित यो अनसनमा सुनचाँदी व्यवसायीहरू, कालिगढहरू र सम्बद्ध महासंघका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। व्यवसायीहरूले सरकारले आफ्ना मागहरू तत्काल सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने अध्यक्ष जसगढले बताए।
