
बहराइच (भारत), १२ फेब्रुअरी २०२६ – भारतको उत्तर प्रदेश राज्यअन्तर्गत बहराइच जिल्लाको रूपईडीहा प्रहरी चौकीले मोटरसाइकल चोरीको अन्तर्राष्ट्रिय गिरोहलाई ठूलो धक्का दिएको छ। प्रहरीको विशेष अभियानका क्रममा तीन नेपाली नागरिकलाई पक्राउ गरी विभिन्न स्थानबाट चोरी भएका कुल १० वटा मोटरसाइकल बरामद गरेको छ।


प्रहरीका अनुसार, जिल्ला प्रहरी अधीक्षकको निर्देशनमा सञ्चालित अभियानअन्तर्गत अपर प्रहरी अधीक्षक (ग्रामीण) दुर्गा प्रसाद तिवारी र क्षेत्रीय प्रहरी अधिकृत नानपाराका पहुप सिंहको नेतृत्वमा प्रभारी निरीक्षक रमेश सिंह रावतको निर्देशनमा वरिष्ठ उप निरीक्षक दीनानाथ सागरको टोलीले मिति १२ फेब्रुअरी २०२६ मा आईसीपी चौराहाबाट पचपकडीतर्फ गस्ती गर्दै गर्दा एक मोटरसाइकलमा सवार तीन संदिग्ध व्यक्तिलाई रोक्ने प्रयास गरेको थियो। उनीहरू भाग्न खोजे पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेहरूको नाम निम्नानुसार छ:
साहरुप खाँ उर्फ टोर्रा (२२ वर्ष), छोरा मो. सफीक खाँ
अरमान खाँ (२१ वर्ष), छोरा नफीस खाँ
नफीस खाँ (४२ वर्ष), छोरा सरीफ खाँ
सबैको ठेगाना: मलऊपुरवा, डुडुवा गाउँपालिका–४, जिल्ला बाँके, थाना कमदी, नेपाल रहेको विज्ञप्तिमा जनाएको छ।
सोधपुछका क्रममा उनीहरूले आफूहरूले चोरेको हीरो स्प्लेन्डर (UP32MC0297) नेपाल लैजाँदै गरेको स्वीकार गरे। थप अनुसन्धानमा उनीहरूले चकिया जंगलको झाडीमा लुकाएर राखेका अन्य ९ वटा चोरीका मोटरसाइकल पनि बरामद गरियो। यी मोटरसाइकलहरू बहराइचका विभिन्न थाना (नानपारा, रिसिया, रामगाउँ, कोतवाली आदि) तथा लखनऊ, लखीमपुर खीरी, गोण्डा लगायतका जिल्लाबाट चोरी भएका थिए। केहीमा नेपाली नम्बर प्लेट जडान गरी प्रयोग गरिएको थियो।
बरामद मोटरसाइकलहरू विभिन्न मोडेलका छन् जसमा हीरो सुपर स्प्लेन्डर, पल्सर २२०, टीभीएस अपाची, होन्डा सीडी डिलक्स आदि छन्। केहीको वास्तविक भारतीय नम्बर र मालिकको विवरण पनि फेला परेको छ, जसमा पुराना चोरीका मुद्दाहरू दर्ता छन्।
पक्राउ परेका अभियुक्तहरूलाई रूपईडीहा प्रहरीले भारतीय दण्ड संहिता (BNS) को धारा ३१७(२), ३१७(४), ३४१(२) अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत बहराइच पेस गरेको छ।

