लेखा समूहका उपसचिव र शाखा अधिकृतका लागि पनि शैक्षिक योग्यता परिवर्तन

संवाददाता
संवाददाता

काठमाडौँ । लेखा समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) र तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि आवश्यक शैक्षिक योग्यता परिवर्तन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ७५ ले दिएको अधिकार प्रयोग गरी नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० संशोधन गरेको हो । उक्त संशोधन नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौँ संशोधन) नियमहरू, २०८२ अन्तर्गत गरिएको हो ।

नियमावलीको अनुसूची–४ को खण्ड ग को क्रमसंख्या १, २ र ३ मा लेखा समूहका पदहरूका लागि तोकिएको शैक्षिक योग्यतामा संशोधन गरिएको हो । संशोधित व्यवस्थाअनुसार राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातकोत्तर तह उत्तीर्ण वा कुनै विषयमा स्नातकोत्तर तहसहित निजामती सेवा ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव प्राप्त गरेको हुनुपर्नेछ ।

त्यसैगरी, राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा लेखा वा वित्त विषयसहित स्नातक तह उत्तीर्ण वा कुनै विषयमा स्नातक तहसहित चार्टर्ड एकान्उटेन्सी परीक्षा उतीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी राजपत्र अनंकित प्रथम श्रेणीकाृ पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट लेखा वा वित्त विषयसहित कक्षा १२(दश जोड दुई) वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि लेखा समूहका उपसचिवका लागि व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्र विषयमा स्नातकोत्तर डिग्री आवश्यक थियो भने अधिकृत तहका लागि स्नातक तह वा सो सरह उत्तीर्ण पर्याप्त मानिन्थ्यो ।

राजस्व समूहका उपसचिव र शाखा अधिकृतका लागि असोज महिनातिरै शैक्षिक योग्यता परिवर्तन गरिसकिएको छ ।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर