सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

संवाददाता
संवाददाता

काठमाडौँमा सस्तोमा व्यक्तिसँग सुन किन्न खोज्दा व्यापारी विनोद लाम्गादेको ६० लाख रुपैयाँ लुटपाट भएको छ। लुटपाटमा प्रहरीको समेत संलग्नता खुलेको छ।

माघ १४ गते लाम्गादेलाई बिलसहितको सुन सस्तोमा बेच्ने भन्दै एउटा समूहले कीर्तिपुरमा बोलाएको थियो। तर पैसा लिएर सुन किन्न गएका उनलाई त्यो समूहले लुटपाट गरेर फरार भएको थियो।

लुटपाटमा संलग्न व्यक्तिले आफू सीआईबीको प्रहरी रहेको बताएका थिए। तर उनी सीआईबीमा नभए पनि प्रहरी भने रहेको खुलेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हवल्दार ३८ वर्षका कर्णबहादुर सुनार पनि पक्राउ गरेको हो।

नवलपरासीको कावासोती नगरपालिका १३ स्थाई घर भएका सुनार प्रहरी हुन्।

प्रहरीले यसअघि नै माघ १८ गते भक्तपुरको कटुन्जेबाट एक लाख ९ हजार रुपैयाँसहित पक्राउ गरेको थियो।

यस्तै, लुटपाटमा जाँदा प्रयोग गरेको अपाचे मोटरसाइकल, मोबाइल लगायतका प्रमाणसहित रसुवा नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौँ तारकेश्वर ५ लोलाङ बस्ने ३२ वर्षका विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका ७ घर भई लोलाङमै बस्ने २८ वर्षका जीवन तामाङ पक्राउ परेका थिए।

जीवन तामाङलाई माछापोखरीबाट पक्राउ गर्दा उनको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको २२० सीसीको पल्सर मोटरसाइकल र ४ लाख ३३ हजार रुपैयाँ बरामद गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए।

उनीहरूको बयानका आधारमा प्रहरी हवल्दार सुनार पनि पक्राउ परेका हुन्।

उनीहरूलाई डाँका चोरी सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको एसपी कार्कीले बताए।

स्रोत : नेपालखबर

Leave a Comment

सम्बन्धित खबर