
नेपालगन्ज, १५ असार २०८२ । नेपाल आर्य समाजको स्थापना दिवस तथा धान दिवसको अवसरमा आज साँझ ६ बजे नेपालगन्जको त्रिवेणी मोडस्थित शिव मन्दिर धर्मशालामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा यज्ञ, दही-चिउरा भोज तथा प्रवचन आयोजना गरिएको थियो।

नेपालमा आर्य समाजको स्थापना स्वनामधन्य स्व. श्री माधवराज जोशीले वि.सं. १९५३ असार १५ मा सुन्दर नगरी पोखरामा गरेका थिए। तदनुसार असार १५ गते आर्य समाज स्थापनाको १२९ वर्ष पूरा भएको छ।
कार्यक्रममा स्थानीय समुदायका सम्पूर्ण महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आर्य समाजका सदस्यहरूले यज्ञको आयोजना गरी सामाजिक एकता र सांस्कृतिक मूल्य-मान्यताको संरक्षणमा जोड दिए। यज्ञपश्चात् उपस्थित सबैले दही-चिउरा खाएर धान दिवसको महत्त्वलाई समेत स्मरण गरे।
नेपाल आर्य समाजले यस्ता कार्यक्रमहरू मार्फत सामाजिक सद्भाव, धार्मिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा सहभागीहरूले यस्ता आयोजनाले समुदायमा एकता र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
