
नेपालगन्ज, भदौ १, २०८२ – नेपालगन्जमा मुस्लिम समुदायले मोहरम पर्वको ४० दिन पश्चात् मनाइने चहेल्लुम (चल्सवा) पर्व भव्यताका साथ मनाएको छ।


परम्परागत रूपमा प्रत्येक वर्ष मनाइने यो पर्व, यस् वर्ष शनिबार (साउन ३१ गते) ताजिया राखिएको थियो भने भदौ १ गते आइतबार जूलूससहित कर्बला पुगेर पर्वको समापन गरिएको छ।

मुस्लिम समुदायले चहेल्लुमको अवसरमा ताजिया (इमाम हुसैनको समाधिस्थलको प्रतीक) लाई श्रद्धापूर्वक जूलूस निकाल्ने प्रचलन रहिआएको छ। साउन ३१ गते नेपालगन्जका विभिन्न स्थानमा ताजिया राखिएको थियो। भोलिपल्ट भदौ १ गते आइतबार बिहान जूलूससहित मुस्लिम समुदाय कर्बला पुगेका थिए, जहाँ ताजिया सेलाउने धार्मिक विधिबाट सम्पन्न गरे।

जूलूसमा सहभागीहरूले इमाम हुसैनको बलिदानको सम्झना गर्दै शान्ति र एकताको सन्देश प्रवाह गरे।

स्थानीय प्रशासनले जूलूसको सुरक्षाका लागि आवश्यक व्यवस्था गरेको थियो, र पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रहरीले जनाएको छ।

