
नेपालगन्ज, बाँके – कमरछठ, जसलाई हलछठ वा हलषष्ठी पनि भनिन्छ, बाँके जिल्लाको प्रमुख पर्वहरू मध्ये एक हो। यो पर्व विशेष गरी सन्तानको लामो आयु र सुखमय जीवनको कामनाका लागि मनाइन्छ। नेपालको तराई क्षेत्र, भारतको उत्तर प्रदेश र बिहारमा जस्तै छत्तीसगढमा पनि यो पर्व सन्तानको दीर्घायुको कामनासहित माताहरूले व्रत बस्ने गर्छन्। यसपालि भोलि बिहीबार मनाइने छ। यो पर्व भाद्रपद कृष्ण पक्षको षष्ठी तिथिमा मनाइन्छ, जुन जन्माष्टमीको दुई दिनअघि पर्दछ।


पर्वको धार्मिक र सांस्कृतिक महत्त्व
नेपालगन्जस्थित त्रिभुवन चोकको शिवालयका पण्डित श्रीकान्त मिश्रका अनुसार, कमरछठ भगवान बलरामको जन्म स्मृतिमा मनाइने पर्व हो। शास्त्रहरूमा बलरामलाई हल र खेतीका देवताको रूपमा लिइन्छ, त्यसैले यो पर्वमा कृषि संस्कृति, मातृत्व र संरक्षणको विशेष सम्मान गरिन्छ। यस दिन भगवान बलराम, शीतला माता र केही स्थानमा अन्नपूर्णा देवी वा गृहलक्ष्मीको पूजा गरिन्छ। पूजामा खेतीसँग सम्बन्धित प्रतीकहरूको प्रयोग गरिन्छ।

व्रत र पूजाको विधि
यो पर्वमा माताहरू निर्जला व्रत बस्छन् र भगवान शिव-पार्वतीको पूजा गर्छन्। पूजामा माटोको कुवा (सगरी) बनाएर विभिन्न रीतिरिवाजहरू पूरा गरिन्छ। छ प्रकारका सागसब्जी, पसहर चामल (जहाँ हल चलाइएको हुँदैन), काशीको फूल, महुआको पात, धानको लाई, भैंसीको दूध, दही लगायतका पूजन सामग्रीहरू भगवान शिवलाई अर्पण गरी सन्तानको दीर्घायुको कामना गरिन्छ। व्रतको अन्त्यमा साँझ डुब्दो सूर्यलाई अर्घ दिएर कथा सुनेपछि व्रत खोलिन्छ।

स्थानीय पत्रकार भरत किशोर बैश्यको अनुसार नेपालगन्जमा यो पर्व ठूलो उत्साहका साथ मनाइन्छ। व्रत बस्ने महिलाहरू समूहमा भेला भई पूजा-अनुष्ठान गर्छन्। बिहारको छठ पूजाको जस्तै यो पर्वमा पनि सूर्यको आराधना र सन्तानको कल्याणको कामना गरिन्छ। नेपालको तराई क्षेत्र र भारतका केही राज्यहरूमा यो पर्वको विशेष महत्त्व छ।

बैश्यले कमरछठ पर्वले धार्मिक आस्थासँगै सांस्कृतिक एकताको सन्देश पनि बोकेको छ। यो पर्वले कृषि संस्कृति र मातृत्वको सम्मान गर्दै सन्तानको सुख र समृद्धिको कामना गर्ने परम्परालाई जीवन्त राख्छ भने।
