नेपालगन्जमा गाईजात्रा (सा:पारु) सम्पन्न

संवाददाता
संवाददाता

नेपालगन्ज, बाँके – नेवा: पुच:, बाँकेको आयोजनामा गाईजात्रा (सा:पारु) २०८२ आइतबार भव्य रूपमा मनाइएको छ।


नेवार समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण पर्वको रूपमा रहेको गाईजात्रामा अन्य समुदायबाट समेत उल्लेख्य सहभागिता रहेको थियो।

परम्परागत रूपमा यो पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सजाएर घुमाउने प्रचलन रहेको छ । गाईजात्रामा लाखे नाच, धार्मिक पात्र समाविष्ट झाँकी र कीर्तनसमेत प्रस्तुत गरिएको थियाे ।

बागेश्वरी मन्दिर परिसरमा कार्यक्रमकाे समापनका अवसरमा नेवा: पुच: बाँकेका पार्षद् हेमन्त कर्माचार्यले सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धनको महत्वमाथि जोड दिए । आ-आफ्नो सांस्कृतिक र धार्मिक मूल्य–मान्यताको जगेर्ना गर्नु सबैकाे कर्तव्य भएको भन्दै कर्माचार्यले यसबाट भावी पुस्तालाई पनि परम्पराको महत्वबारे बुझाउन मद्दत पुग्ने बताए ।


उनले थपे, “पहिले–पहिले दिवंगत भएका परिवार र आफन्तजनमा सीमित रही गाईजात्रा मनाउने चलन रहिआएकोमा विगत ५ वर्षदेखि नेवा: पुच: बाँकेले संगठित रूपमा पर्व मनाउँदा बेग्लै सन्देश दिएकाे छ ।´

नेवा: पुच: बाँकेका अध्यक्ष जितेन्द्र जोशीले गाईजात्राको पर्व शाेक र चित्त शान्तिको संगम भएको भन्दै मृतकको आत्माको शान्तिको कामना गर्दै परिवारजनलाई बाँकी जीवन जिउन उत्प्रेरणा दिनु गाईजात्राको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रम संयाेजक चन्द्र श्रेष्ठले यो वर्ष पर्वमा स्वर्गीय कमलादेवी श्रेष्ठ, रमादेवी श्रेष्ठ, सुशीला चुके, केदारप्रसाद श्रेष्ठ, राकेशकुमार कर्माचार्यसहित सातजना मृतकका परिवारजन सहभागी भएको जानकारी दिए।

नेवा: देय दबूसहित नेपालगन्जस्थित विभिन्न गुठीले सहकार्य गरेकाे कार्यक्रममा ब्रहमकुमारी ओम शान्ति बाट झाँकी प्रदर्शन साथै गुल्मी सेवा समाजबाट कीर्तन प्रस्तुति भएको थियाे ।

Leave a Comment

सम्बन्धित खबर