
नेपालगन्ज, १९ साउन २०८२ – बाँके जिल्लाको राप्ती नदीस्थित सिधनियाघाटमा आइतबार हजारौं बोलबम यात्रीको भीड लागेको छ। नेपालगन्ज उपमहानगरपालिका लगायत जिल्लाका विभिन्न क्षेत्रबाट आएका शिवभक्तहरू जल लिन सिधनियाघाट पुगेका थिए।

नेपाली कांग्रेसका नेता एवम् सामाजिक अगुवा ललित रौनियारका अनुसार, हरेक वर्ष आइतबार राति भक्तजनहरू रात्रिजाग्राम बसी घाटबाट जल लिएर सोमबार बिहान फर्कन्छन्। उनीहरूले ल्याएको जल शक्तिपीठ माता बागेश्वरी मन्दिरको तलाउमा रहेको खड्गेश्वर, जुँगे महादेव लगायत जिल्लाका विभिन्न शिवालय र शिव मन्दिरहरूमा जलाभिषेक गर्ने परम्परा रहेको बताए।
जल लिनुअघि भक्तजनहरू कम्दीको मिलन चौकमा विश्राम गरी भजन-कीर्तनमा सहभागी हुन्छन्। यो अवसरमा धेरैले बोलबम यात्रीका लागि भण्डारा र पिउने पानीको व्यवस्था गरेकामा समाजवादी युवा नेता सूर्यलाल यादवले यात्रीहरूको सेवामा खाना र पानीको व्यवस्था गर्ने सबैप्रति आभार व्यक्त गरे।
गाउँपालिकाले विगतका वर्षहरूझैं यस वर्ष पनि बिजुली, विश्राम स्थल, टेन्ट लगायतको व्यवस्था गरेको छ। वडा सदस्य काशीराम यादवले बताए, यादवले पालिका सदस्यहरू स्वयं खटिएर व्यवस्थापनमा सहयोग गरिरहेको भने।
यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन प्रहरी प्रशासन चुस्त-दुरुस्त रहेको छ। नगरदेखि सिधनियाघाटसम्म प्रहरी परिचालन गरी सहयोग गरेकोमा गंगा महाआरती समिति राप्ती नदी सिधनियाघाट र नेपाली कांग्रेस २ नम्बर क्षेत्रका सभापतिले धन्यवाद व्यक्त गरे।
यात्राको विषयमा समाजवादी युवा नेता अजय वर्मा र नेपाली कांग्रेसका युवा नेता विनय चन्द गुप्ताले बोलबम संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्ने बताए। यो संस्कृति आउने पुस्ताका लागि धरोहर र पहिचानसँग जोडिएको भन्दै धार्मिक-सांस्कृतिक कार्यक्रमलाई सहज बनाउन राज्यको अहम् भूमिका हुनुपर्नेमा जोड दिए।
ललित रौनियारले यो बोलबम यात्राले बाँकेको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै शिवभक्तहरूमा उत्साह र भक्ति जगाएको बताए।
