
१० साउन २०८२ शनिबार

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेतृत्वविरुद्ध भइरहेका योजनाबद्ध षड्यन्त्रहरूलाई परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शनिबार गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसअघि भएका षड्यन्त्रहरूझैँ अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरु भएको बताए ।
“पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ,” अध्यक्ष प्रचण्डले भने, “त्यसबाट केही साथिहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरुद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ।”
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकार जनमुखी कार्यक्रमहरूमार्फत लोकप्रिय बन्दै गएको समयमा दलाल, बिचौलिया, माफिया र नोकरशाहहरूले मिलेर षड्यन्त्रपूर्वक सरकारबाट बाहिर धकेलेको र सरकारबाट बाहिरिएपछि पनि षड्यन्त्र जारी रहेको बताए ।
सरकारबाट बाहिरिएपछि पनि माओवादी केन्द्र चुप नबसी सुशासन र सामाजिक न्यायका लागि खबरदारी जारी राखेका कारण माओवादीविरुद्ध पनि आफू नेतृत्वको सरकारविरुद्धजस्तै षड्यन्त्र भइरहेको उहाँले बताए ।
प्रचण्डले पार्टी अब फेरि एक्लै चुनावमा जाने तयारीमा रहेको स्पष्ट पारे। “हामीले एक्लै लड्दा चुनाव जितेका छौँ,” उनले भने, “अब ८४ सालमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको छ।”
अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध भइरहेको ‘संगठित घेरा’लाई तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रहसमेत गरेको उनको सचिवालयले जनाएको छ ।
स्रोत : लोकान्तर
