
स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको लौकाहा बजार निवासी अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार शुक्रबार बिहान करिब ९ः३० बजे लहान–३ अस्पताल चोक नजिकको सुरक्षा वेश क्याम्पबाट खटिएको चेक प्वाइन्ट टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
राहुल कुमार इनरुवाबाट लहानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार थिए । प्रहरीले शंका लागि खानतलासी गर्दा स्रोत नखुलेको नगद रकम फेला परेको हो ।
उपरीक्षक भण्डारीका अनुसार पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीका लागि बरामद नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ ।
