भेरी अस्पतालमा आँखा उपचार सेवा विस्तार : छुट्टै शल्यक्रिया कक्ष, ६ दिन नै माइनर ओटी सुविधा

संवाददाता
संवाददाता

नेपालगन्ज, ७ साउन २०८२ – भेरी अस्पताल नेपालगन्जमा आँखा उपचार सेवा थप व्यवस्थित र विस्तार गरिएको छ। अस्पतालले आँखा उपचारका लागि छुट्टै शल्यक्रिया कक्ष स्थापना गरेको छ भने माइनर ओटी सेवालाई ६ दिन नै सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यसले बिरामीहरूलाई शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता हटेको छ।

नयाँ शल्यक्रिया कक्षको उद्घाटनसँगै आज बैजनाथ र राप्ती सोनारीका दुई जना बिरामीको आँखाको टेरिजियम शल्यक्रिया सम्पन्न भएको छ। यसअघि ओपिडी सेवा ६ दिन नै सञ्चालन भए पनि शल्यक्रिया कक्षको अभावमा बिरामीले समय कुर्नुपर्ने अवस्था थियो।

नेत्र रोग विशेषज्ञ डा. श्यामसुन्दर भण्डारीको नेतृत्वमा डा. कृष्णादेवी श्रेष्ठ र डा. दामोदर पुडासैनीको टिमले ओपिडी तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ। उक्त टिममा दृष्टि विशेषज्ञहरू यादव पौडेल, पवित्रा चौधरी, शारदा चौधरी, नेत्र सहायकहरू राम अग्रहरी, शेखर थापा र सहयोगी जमुना चदारा समेत सहभागी छन्।

भेरी अस्पतालको ओपिडीमा दैनिक ३० देखि ३५ जना बिरामी आँखा उपचारका लागि आउने गरेका छन्। नयाँ व्यवस्थाले आँखा रोगीहरूलाई थप सहज र गुणस्तरीय सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।

Leave a Comment

सम्बन्धित खबर