
मेराज सलमानी

बांके,साउन ५ नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले विष सेवन गरेकी एक युवतीलाई बेड खाली नभएको भन्दै उपचार नदिई फर्काएको छ। गम्भीर अवस्थामा अस्पताल पुर्याइएको युवतीलाई आकस्मिक सेवा दिनुपर्नेमा अस्पताल प्रशासनले गैरजिम्मेवार व्यवहार गरेको भन्दै परिवार र स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।
पीडित पक्षका अनुसार, युवतीलाई विष सेवन गरेपछि अस्पताल पुर्याइएको थियो। तर, अस्पतालका कर्मचारीहरूले बेड छैन भन्दै उनलाई भर्ना गर्न अस्वीकार गरे। “हामीले कर गरीपनि केही उपचार होस् भनेर आग्रह गर्यौं, तर कसैले सुनुवाइ गरेन,” युवतीको आफन्तले बताए।
घटनापछि सञ्चारकर्मीहरूले अस्पतालका मेडिकल सुपरीटेन्डेन्टलाई सम्पर्क गर्दा फोन समेत उठाइएको छैन।
जनस्वास्थ्यको गम्भीर संवेदनशीलतामा समेत लापरवाही देखिएको भन्दै यस घटनाले सरकारी अस्पतालहरूको सेवा प्रवाहप्रति गम्भीर प्रश्न उठाएको छ।
भेरी अस्पताल हाल लुम्बिनी प्रदेशअन्तर्गतको एक प्रमुख अस्पताल हो, तर आपतकालीन अवस्थामा समेत उपचार नदिने अवस्थाले स्थानीयहरूमा निराशा र आक्रोश फैलिएको छ।
