एलानी जग्गा विवाद : धम्की र ब्ल्याकमेलको आरोप, चौकीदारको भूमिका शंकास्पद

संवाददाता
संवाददाता

नेपालगन्ज, साउन ४ — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ आलानगरकी अमृता क्षेत्रीले आफ्नो भोगचलनको १७ कठ्ठा जग्गा अर्कैले जवरजस्ती जोतभोग गरेको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। लामो समयदेखि उक्त जग्गा जोत्दै आएकी अमृताले स्थानीय भरत गौतमसँग घरायसी कारणले विदेश जानुअघि ३ वर्षका लागि २० हजार रुपैयाँमा एक प्लट भाडामा दिएकी थिइन्।

अमृताका अनुसार, भाडाको रकम फिर्ता गरिसके पनि पुरानो सम्झौतालाई आधार बनाएर केही व्यक्तिहरूले धम्कीपूर्ण तरिकाले जग्गा कब्जा गर्न खोजिरहेका छन्। “तीन वर्ष बितिसकेको छ, रकम पनि फिर्ता गरिसकेँ। तर, भोजराज शर्मा र अन्य व्यक्तिहरूले मलाई ब्ल्याकमेल गर्दै जग्गा अर्कैलाई जोत्न लगाएका छन्,” अमृताले बताइन्। उनले भरतसँग भएको पुरानो लेनदेनको कागजात आफूले नदेखेको र विश्वासकै आधारमा सम्झौता भएको दाबी गरिन्। “कागजातमा उल्लेखित मितिमा त लेनदेन गर्ने व्यक्ति जन्मेकै थिएन, नक्कली कागज बनाएर मलाई फसाउन खोजिएको छ,” उनको आरोप छ।

हाल उक्त जग्गा भोजराज शर्माको निगरानीमा अर्कैले जोतिरहेको छ। भोजराजले आफू केवल चौकीदारको रूपमा काम गरिरहेको र व्यक्तिगत स्वार्थ नभएको दाबी गरेका छन्। उनले केशव श्रेष्ठले जग्गा हेर्न जिम्मा दिएको बताए। तर, स्थानीयले भोजराजको भूमिकामाथि प्रश्न उठाएका छन्। “चौकीदारले यस्ता ठूला निर्णय गर्ने अधिकार हुँदैन, भोजराज स्वयं संलग्न छन् कि भन्ने आशंका छ,” एक स्थानीयले भने।

आफूलाई वकिल बताउने केशव श्रेष्ठले २० वर्षअघि अमृता र भरतबीच लेनदेन भएको र आफूसँग सबै प्रमाण रहेको दाबी गरेका छन्। उनले यो विवाद कानुनी प्रक्रियाबाट समाधान हुने बताए। यता, अमृताले भोजराज र अन्य व्यक्तिहरूको मिलेमतोमा जग्गा कब्जा गर्न खोजिएको आरोप लगाइरहेकी छन्।

स्थानीयवासीले एलानी जग्गा बेचविखन गर्न नमिल्ने र पुरानो लेनदेनको आधारमा धम्की दिनु गलत भएको बताएका छन्। “अमृताले वर्षौंदेखि उक्त जग्गा जोतेको हामीले देखेका छौँ। यो धम्की स्वीकार्य छैन,” एक स्थानीयले भने। यो विवाद कानुनी प्रक्रिया वा स्थानीय तहबाट समाधान हुने अपेक्षा गरिएको छ। अमृता भने आफूमाथि भएको अन्यायविरुद्ध न्यायको खोजीमा छिन्।

Leave a Comment

सम्बन्धित खबर