पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

संवाददाता
संवाददाता

जनकपुर । धनुषा प्रहरीले नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोलका २३ वर्षिय विजय मुखिया रहेको छ।

 

गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं १ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको१६ प्रो. आइफोन मोबाइल लुटपाट गरेको धनुषा प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए। मुखियालाई प्रहरीले सोमबार साँझ धनुषाको सबैला नगरपालिका वडा नंं ९ ठिल्लाबाट पक्राउ गरेको थियो। उनले लुटपाटमा प्रयोग गरेको विआर३२एवाई३९३८ नम्बरको निलो रङ्गको अपाचे मोटरसाइकल र ब्याग पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९÷१० वटा मुद्दा रहेको जानकारी दिए।

धनुषा प्रहरीका अनुसार उक्त घटनामा थप केही व्यक्ति फरार रहेका छन् भने उनीहरुको खोजी जारी रहेको छ। पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको उपरीक्षक रेग्मीले जानकारी दिए।

Leave a Comment

सम्बन्धित खबर