राहत शिक्षकको आन्दोलन घोषणा, सांसदको पुत्ला जलाउनेदेखि दल बहिष्कारसम्म

संवाददाता
संवाददाता

राहत शिक्षकहरुले अस्थायी शिक्षकको ६० प्रतिशत सिटमा आन्तरिक परीक्षा लिने गरी संसदको शिक्षा समितिले जुटाएको सहमतिको विरोध गरेका छन् । यसको विरोधमा सांसदहरुको पुत्ला जलाउने, दलहरुको शिक्षक संगठन त्याग्ने, दलहरुलाई बहिस्कार गर्ने र अनशन बस्नेसम्मको आन्दोलन घोषणा गरेका छन् ।

राहत शिक्षकहरुले विगतमा सरकारसँग विभिन्न मितिमा भएको सहमति अनुसार ७५ प्रतिशत सिटमा आन्तरिक परीक्षा गर्न माग गरेका छन् । राहत शिक्षक केन्द्रीय समितिले प्रतिवर्ष ४ महिनाको दरले आर्थिक प्याकेज दिएमा आफूहरु सामूहिक रुपमा बाहिरिन तयार रहेको पनि बताएको छ ।

विद्यालय शिक्षा विधेयकमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्थायी शिक्षक संख्याको ६० प्रतिशत आन्तरिक सिट र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक भर्ना गर्ने सहमति जुटाएको छ ।

शिक्षक महासंघले भने विगतमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षक भर्ना गर्ने व्यवस्था राख्न माग गरेको थियो । तर संसदीय समितिमा सबैजसो दल ६०–४० को प्रावधानमा अडिएपछि शिक्षक महासंघको माग पूरा भएको छैन ।

अस्थायी प्रकृतिका शिक्षकमध्ये सबैभन्दा धेरै राहत शिक्षक करिब ४० हजारको संख्यामा रहेका छन् । ६०–४० को व्यवस्थाले आफूहरु बढी प्रभावित हुने भन्दै राहत शिक्षकहरु आन्दोलनमा आएका हुन् ।

उनीहरुले शिक्षा समितिबाट शिक्षा विधेयक पारित भएको दिन सांसदहरुको पुत्ला जलाउने निर्णय गरेका छन् । शुक्रबार र शनिबार काठमाडौंमा बसेको राहत शिक्षक केन्द्रीय समितिको बैठकले शिक्षा विधेयक संसदमा पेशहुने दिन राजनीतिक दलको शिक्षक संघसंगठनहरु त्याग्ने निर्णय पनि गरेको छ ।

त्यस्तै विधेयक प्रतिनिधिसभाबाट पारित भएको दिन नो भोटसहित दलहरुलाई बहिस्कार गर्ने र पेशागत काम छाडेर पालिकामा अनशन बस्ने निर्णय गरेको छ ।

सरकारले अस्थायी शिक्षकलाई विगतमा पनि पटक पटक स्थायी हुन मौका दिएको, अन्य राष्ट्रसेवक र उच्च शिक्षाका प्राध्यापकहरुलाई पनि अस्थायीबाट स्थायी हुन मौका दिएको भन्दै राहत शिक्षकहरुले आफूहरुलाई एक पटक पनि मौका नदिनु अन्यायपूर्ण भएको बताएका छन् ।

हेर्नुहोस् राहत शिक्षक केन्द्रीय समितिको विज्ञप्ति

Leave a Comment

सम्बन्धित खबर