
महोत्तरी, २७ असार २०८२ – नेपाल पत्रकार महासंघले महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय जलेश्वरको समाचारलाई लिएर सामाजिक सञ्जालमा पत्रकारविरुद्ध व्यक्त धारणा र मानमर्दनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार र सूचना प्रवाहको संविधानप्रदत्त अधिकार प्रयोग गर्दा पत्रकारको व्यावसायिक निष्ठा र धर्ममाथि प्रहार हुनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको उल्लेख छ। विशेषगरी पत्रकार उपासना तिवारीलाई लक्षित गरी सामाजिक सञ्जालमा भएको टीकाटीप्पणी दुखद् र निन्दनीय भएको महासंघले ठहर गरेको छ।
सामाजिक सञ्जालको प्रयोगमा कुनै व्यक्ति वा पक्षको मानमर्दन हुने र सामाजिक प्रतिष्ठामा आघात पुग्ने गतिविधि कानुनविपरीत हुने भन्दै महासंघले यस्ता कार्य नदोहोर्याउन र सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबैमा आग्रह गरेको छ।
“पत्रकारलाई मानमर्दन गर्ने र सामाजिक सद्भावमा आघात पुग्ने हर्कत आगामी दिनमा नदोहोर्याउन महासंघ जोडदार आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
