१२औं संस्करण राप्ती गंगा महाआरती भव्य रूपमा सम्पन्न

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – बिहीबार बाँके जिल्लाको नेपालगञ्जमा आयोजित १२औं संस्करणको राप्ती गंगा महाआरती समारोह सफलतापूर्वक सम्पन्न भएको छ। राप्ती गंगा महा-आरती समिति, बाँकेको आयोजनामा भएको यो भव्य समारोहमा पुजनीय गुरुहरू, भक्तजन, सामाजिक अगुवाहरू, सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू र व्यवस्थापनमा सहयोगी स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो समारोहमा आरतीकर्ताको रूपमा श्रीमान् मदन श्रेष्ठ र श्रीमती प्रतिभा श्रेष्ठले सहभागिता जनाउनुभएको थियो। समारोहलाई भव्य र सभ्य बनाउन सम्पूर्ण सहयोगीहरूको अथक प्रयास र सहयोगको लागि राप्ती गंगा महा-आरती समितिले हार्दिक आभार र धन्यवाद व्यक्त गरेको छ। साथै, समितिले नेपालगञ्ज उपमहानगरपालिका र सम्पूर्ण दाताहरूलाई पनि विशेष धन्यवाद दिएको छ।

राप्ती गंगा महा-आरती समितिका अनुसार, आगामी दिनहरूमा प्रत्येक महिनाको पूर्णिमाको दिनमा गंगा महाआरतीको आयोजना गरिनेछ। यसको १३औं संस्करण आगामी साउन २३ गते आयोजना हुने जानकारी समितिले सार्वजनिक गरेको छ। समितिले आगामी कार्यक्रमहरूमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।

“जय गंगा माइया, जय जननी, जय नेपाल आमा” को नारासहित सम्पन्न यो समारोहले राप्ती नदीको महत्व र संरक्षणको सन्देशलाई पनि प्रचार गरेको छ। समितिले सबैलाई आगामी साउन २३ गते हुने १३ औं संस्करणको महाआरतीमा सहभागी भई धार्मिक र सांस्कृतिक एकताको सन्देश फैलाउन आह्वान गरेको समितिले जनाएको छ।

Leave a Comment

सम्बन्धित खबर