
२६ असार २०८२ बिहीबार

काठमाण्डु – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आउँदो साउन ७ गते पार्टी संस्थापक नेतामध्येका एक पुष्पलाल श्रेष्ठको जन्मजयन्ती मनाउने निर्णय गरेको छ ।
बिहीबार सम्पन्न बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूसँग जानकारी दिँदै बैठकमा संगठनात्मक विषयमा गहन छलफल भएको बताए ।
उनका अनुसार हालै देशभर विशेषगरी रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोले धनजनमा ठूलो क्षति पुर्याएकोप्रति पार्टीले गहिरो दु:ख व्यक्त गरेको छ । माओवादी केन्द्रले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडितका परिवारप्रति समवेदना जनाएको छ ।
प्रवक्ता सापकोटाले भने, ‘आजको पदाधिकारी बैठकमा आन्तरिक संगठनात्मक विषयहरूबारे छलफल थियो । त्यसको अत्तिरिक्त अहिले अब यो अहिले बाढीपहिरोले धेरै ठूलो धनजनको क्षति गरेको छ, त्यसमा अब रसुवा लगायतका जिल्लाहरूमा अकल्पनीय खालको बाढी पहिरो आएर धनजनको क्षति भएकोमा हाम्रो पार्टीले मृत्तकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । सरकारसँग उद्धारको लागि तदरुकताका अनुसार काम गरोस् र राहतका लाग, पुन:स्थापनाका लागि सरकारले गम्भीरतापूर्वक ध्यान देओस् भन्ने माग बैठकले गरेको छ । यसका साथसाथै साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको छ ।’
