लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

संवाददाता
संवाददाता

नेपालगन्ज , २५ असार २०८२ 

मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, कपिलवस्तु र आसपासका क्षेत्रमा हाल मध्यमदेखि भारी वर्षा भइरहेको छ भने थप वर्षाको सम्भावना कायम छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। बाँकी भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार, वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहाव (debris flow) को जोखिम बढेको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहेको र ठूला तथा साना नदी, खोला र नालाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।

यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकोले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन अनुरोध गरिएको छ।

मौसमसम्बन्धी थप जानकारीका लागि www.dhm.gov.np मा सम्पर्क गर्न सकिन्छ।

Leave a Comment

सम्बन्धित खबर