सुनचाँदी व्यवसायी संघ बाँकेको रिले अनशन दोस्रो दिन पनि जारी

संवाददाता
संवाददाता

नेपालगन्ज १९ असार २०८२ नन्दलाल साहू

सुनचाँदी व्यवसायी संघ बाँकेले सरकारको कर नीतिविरुद्ध रिले अनशनको दोस्रो दिन पनि नेपालगन्जमा आफ्नो आन्दोलनलाई निरन्तरता दिएको छ।

सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य पत्थर तथा हिरामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै संघले यो आन्दोलन थालेको हो।

लुम्बिनी प्रदेश सदस्य तथा सुनचाँदी व्यवसायी संघ बाँकेका सह-कोषाध्यक्ष हाशिम अन्सारीले सरकारसँग सुनको भन्सार दर ६ प्रतिशतमा कायम गर्न र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति नियमावली निर्माण गर्न माग गरेका छन्। “कर र भ्याट खारेज नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” उनले भने।

यस आन्दोलनमा नेपाल हस्तकला संघ, कालीगढ संघ, र नेपाल सुनचाँदी तथा गरगहना व्यवसायी संघको संयुक्त सहभागिता रहेको छ। बिहीबार पनि व्यवसायीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। यो आन्दोलनले सुनचाँदी व्यवसायमा सरकारको नीतिले पारेको असर र उपभोक्तामाथिको आर्थिक भारलाई उजागर गरेको छ।

संघले सरकारसँग व्यवसायमैत्री नीति निर्माण गर्न र सुनचाँदीको कारोबारलाई सहज बनाउन तत्काल कदम चाल्नुपर्ने संघका अध्यक्ष सलाउद्दीन जसगढले माग राखेको बताए।

Leave a Comment

सम्बन्धित खबर