बालेन क्याबिनेटको पहिलो बैठकबाट ५० सुधार घोषणा, निजामती सेवा ऐन ५ दिनमै संसदमा पेश हुने

संवाददाता
संवाददाता

काठमाडौँ। भोली प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट कम्तीमा ५० वटा सुधारका कार्य घोषणा हुने तयारी गरिएको छ । सोही तयारीअनुसार सरकारले सबै मन्त्रालयबाट ठोस सुधारका योजना माग गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै प्रत्येक मन्त्रालयबाट कम्तीमा ५ वटा सुधारका कार्य प्रस्ताव गर्न भनिएको छ । उक्त प्रस्ताव आगामी चैत्र १२ गते दिउँसो १:०० बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

पत्रमा सुधारका कार्यहरू न्यून लागतमा कार्यान्वयन गर्न सकिने, नागरिकका गुनासा तथा समस्या सम्बोधन गर्ने, जनतामा प्रत्यक्ष प्रभाव पार्ने र बढीमा १०० दिनभित्र सम्पन्न गर्न सकिने प्रकृतिका हुनुपर्ने उल्लेख गरिएको छ । साथै कार्यान्वयनका लागि स्पष्ट समयसीमा निर्धारण गरिएको हुनुपर्ने पनि भनिएको छ ।

हरेक मन्त्रालयबाट कम्तीमा ५ वटा ठोस सुधारका कार्यहरू प्रस्ताव गरी आगामी चैत्र १२ गते दिउँसो १:०० बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउनुहुन अनुरोध छ, पत्रमा भनिएको छ ।

उक्त सुधारका कार्यहरू भरसक लागत नलाग्ने, नागरिकका गुनासा/समस्या सम्बोधन गर्ने, जनतामा प्रत्यक्ष प्रभाव पार्ने र बढीमा १०० दिनभित्र सम्पन्न गर्न सकिने तथा दिन किटान गरिएको हुनुपर्ने विषय समेत अनुरोध गरिएको छ ।

पत्रमा सुधारका कार्यका उदाहरणसमेत दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा ऐन संसद् सुरु भएको ५ दिनभित्र पेश गर्ने, सेवा समूह सञ्चालन गर्ने निकायले अनलाइन सरुवा प्रणाली ३० दिनभित्र लागू गर्ने, परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्रमा पासपोर्ट आबद्धता १५ दिनभित्र गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’मा प्राप्त गुनासा ७ दिनभित्र सम्बोधन गर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयहरूबाट प्राप्त प्रस्तावका आधारमा प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण लगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकबाट यी सुधारका कार्यहरू सार्वजनिक गरिने तयारी गरिएको बुझिएको छ ।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर