
काठमाडौं– आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचन केही यस्ता निर्वाचन क्षेत्रका कारण विशेष चासोको विषय बनेको छ, जहाँ लामो समयदेखि राजनीतिमा प्रभाव जमाएका ‘हेभिवेट’ नेताहरूलाई युवा पुस्ताले प्रत्यक्ष चुनौती दिएका छन् ।

पटक–पटक मन्त्री र प्रधानमन्त्री बनिसकेका तथा दशकौँदेखि चुनाव जित्दै आएका शीर्ष नेताविरुद्ध ४० वर्षमुनिका उम्मेदवारहरू उत्रिएसँगै यसपटकको निर्वाचनलाई पुस्तान्तरणको संघर्षका रूपमा हेरिन थालिएको छ ।
परम्परागत दलभित्रै रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहे पनि प्रतिनिधिसभा चुनावमा भने व्यवहारिक रूपमा नयाँ पुस्ता पुराना नेतृत्वसँग भिडिरहेको दृश्य देखिएको छ ।
कांग्रेस, एमाले र नेकपासहितका ठूला दलका शीर्ष नेतासँग स्वतन्त्र तथा नयाँ दलका युवाहरू चुनावी मैदानमा होमिएका छन् ।
धेरै क्षेत्रमा युवाहरू प्रतीकात्मक उपस्थिति मात्र नभई जित्ने आत्मविश्वाससहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
ओलीको किल्लामा बालेनको चुनौती
यसपटक सबैभन्दा बढी ध्यान खिचेको क्षेत्र झापा–५ हो ।
यहाँ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह प्रतिस्पर्धामा छन् ।
७४ वर्षीय ओली सातौँ जितको खोजीमा रहँदा ३६ वर्षीय बालेन संसदीय राजनीतिमा प्रवेश गर्ने लक्ष्यसहित मैदानमा छन् ।
रास्वपाले बालेनलाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय अभियानसमेत चलाइरहेको छ ।
ओलीविरुद्ध अन्य युवा उम्मेदवारहरू पनि मैदानमा छन् ।
रुकुममा प्रचण्डविरुद्ध युवा पुन
तीन पटक प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट चुनाव लड्दै छन् ।
उनलाई २८ वर्षीय सन्दीप पुनले चुनौती दिएका छन् ।
गृहजिल्ला चितवन र गोरखालाई असुरक्षित ठानेर रुकुम पुगेका प्रचण्डविरुद्ध एमाले, राप्रपासहितका दलका युवा उम्मेदवार पनि उभिएका छन् ।
अन्य क्षेत्रहरूमा पनि पुस्ताबीच प्रतिस्पर्धा
रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग ३०–४० वर्ष उमेर समूहका उम्मेदवार भिड्दै छन् ।
झापा–२, इलाम–२, काठमाडौं–५, लमजुङ–१, गुल्मी–१, रुपन्देही–२, दाङ–२, मोरङ–२ र मोरङ–६ लगायतका क्षेत्रमा पनि ६०–७० वर्ष उमेर समूहका स्थापित नेताविरुद्ध ३०–४० वर्ष उमेर समूहका नयाँ अनुहार चुनावी मैदानमा छन् ।
त्यसैगरी सुनसरी, धनुषा, नुवाकोट, महोत्तरी, सर्लाही, पाल्पा लगायतका जिल्लामा पनि उस्तै दृश्य देखिएको छ, जहाँ अनुभवी नेतासँग उत्साही युवाको प्रतिस्पर्धा रोचक बनेको छ ।
पुस्तान्तरणको वास्तविक परीक्षा
यस चुनावले केवल दलगत प्रतिस्पर्धा मात्र नभई नेतृत्व पुस्ता परिवर्तनको बहसलाई पनि व्यवहारिक रूप दिएको छ ।
पुराना शक्ति केन्द्र र नयाँ ऊर्जा बोकेका युवाबीचको भिडन्तले आगामी संसद्को स्वरूप कस्तो बन्ने भन्ने संकेत गर्नेछ ।
धेरै क्षेत्रमा युवाहरूले केवल सहभागिता मात्र होइन, जितको दाबीसमेत गरिरहेका छन् ।
यसैले २१ फागुनको निर्वाचनलाई पुस्तान्तरणको निर्णायक मोडका रूपमा हेरिएको छ ।
स्रोत : विश्वखबर
