
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरिने भएका बताएका छन्।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी आचारसंहिता उल्लंघनका उजुरीमाथि अनुसन्धान भइरहेको बताए। ‘आचारसंहिता कडाईका साथ लागू गरेका छौँ। त्यसको पालना भयो कि भएन भनेर हामी अनुगमन पनि गरिरहेका छौँ,’ उनले भने।
आचारसंहिता उल्लंघन गर्ने केही उम्मेदवारलाई स्पष्टीकरण सोधिएको उल्लेख गरे। केहीले स्पष्टीकरण बुझाइसकेको बताउँदै अध्ययन गरेर आवश्यक निर्णय हुने बताए।
‘केही उम्मेदवारविरुद्ध उजुरी पनि आएको छ। हामीले उहाँहरूलाई स्पष्टीकरण समेत सोधेका छौँ। केहीले स्पष्टिकरण पठाउनुभएको छ र केही आउने क्रममा छन्। स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौं,’ भण्डारीले भने।
निर्वाचनको तयारी तिव्र गतिमा भइरहेको बताउँदै तोकिएकै समयमा चुनाव हुने उनको भनाइ थियो। ‘तोकिएको मिति र समयमै निर्वाचन हुन्छ,’ उनले भने।
स्रोत : नेपालखबर
