
नेपालगञ्ज, १ भदौ २०८२ – जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध (ब्राउन सुगर) को अवैध कारोबारमा संलग्न सात जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले चार छुट्टाछुट्टै घटनामा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

पहिलो घटना २०८२।साउन।२९ गते नेपालगञ्ज उपमहानगरपालिका–३ एकलाईनीमा लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र अस्थायी प्रहरी पोष्ट नगरभवनको संयुक्त टोलीले दाङ, तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय वीरबहादुर बिकलाई पक्राउ गरेको छ। उनको साथबाट ४७ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरजस्तो खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
दोस्रो घटना : २०८२।साउन।३० गते नेपालगञ्ज–४ बसपार्कमा लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले नेपालगञ्ज–५ फुल्टेक्राका २५ वर्षीय फैजान अन्सारी र सोही ठाउँका २२ वर्षीय मोहम्मद अफाक शाहलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५० ग्राम २४० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ बरामद भएको उल्लेख छ।
तेस्रो घटना : सोही दिन नेपालगञ्ज–४ बसपार्क पछाडि लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि आक्रमण भएको थियो। भाग्न खोज्ने दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड गोली प्रहार गरेको थियो। उक्त घटनामा भारत, बहराइच जिल्ला, रुपडियाका २० वर्षीय कार्तिक कुम्हार र अजय कुम्हार पक्राउ परेका छन्। उनीहरूको साथबाट १०९ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
चौथो घटना : २०८२।साउन।३० गते नेपालगञ्ज–११ त्रिभुवन चोक नजिक लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज, लागूऔषध अनुसन्धान ब्युरो सुर्खेत र वडा प्रहरी कार्यालय नेपालगञ्जको संयुक्त टोलीले ४४ वर्षीय रसुल अहमद कबाडियालाई पक्राउ गरेको छ। उनको साथबाट ९८ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरजस्तो खैरो धुलो पदार्थ बरामद भएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइएको जानकारी दिए। बाँके प्रहरीले लागूऔषधको अवैध कारोबारविरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने बताए ।

