
नेपालगन्ज, २९ साउन २०८२ – हर छठ पर्व, जुन भगवान श्रीकृष्णका जेठा दाजु भगवान बलरामलाई समर्पित छ, हिन्दू समुदायमा विशेष उत्साह र भक्तिपूर्वक मनाइन्छ। यो पर्व विशेषगरी महिलाहरूले आफ्ना सन्तानको कल्याण, समृद्धि र पुरुष सन्तानको आशीर्वादका लागि व्रत बस्ने गर्छन्।



यो पर्व नेपालको तराई जिल्लाहरूमा तथा भारतको उत्तर प्रदेश राजस्थानमा चन्द्र षष्ठी, गुजरातमा रंधन छठ र ब्रज क्षेत्रमा बलदेव छठका नामले पनि चिनिन्छ। हिन्दू चन्द्र पञ्चाङ्गको भाद्रपद महिनाको कृष्ण पक्षको षष्ठी तिथिमा यो पर्व मनाइन्छ।


श्रीहरि सत्संग समिति नेपाल साखा कार्यालय नेपालगञ्जका जिल्ला अध्यक्ष कृष्ण यादवजी अनुसार यो पर्व भगवान बलरामको जन्मजयन्तीका रूपमा मनाइन्छ, जसलाई भगवान विष्णुका अवतार शेषनागको रूप मानिन्छ। बलरामले हललाई आफ्नो हतियारका रूपमा प्रयोग गर्नुभएको थियो, जसले गर्दा यो पर्वको कृषक समुदायसँग गहिरो सम्बन्ध छ। किसानहरूले खेतीका पवित्र औजारहरू जस्तै मूसल र फावडाको पूजा गरी राम्रो फसलको प्रार्थना गर्छन्।


हिन्दू पौराणिक कथामा हर छठ
हिन्दू पौराणिक कथाअनुसार, महाभारतकालमा अर्जुनकी पत्नी उत्तराको गर्भमा रहेको सन्तानको हत्या भएको थियो। भगवान श्रीकृष्णको सल्लाहमा उनले भक्तिपूर्वक षष्ठी व्रत पालन गरिन् र आफ्नो गर्भलाई जोगाउन सकिन्। त्यसैले यो व्रत सन्तान प्राप्ति र सुरक्षाका लागि विशेष मानिन्छ।


हर छठको पूजा अनुष्ठान
यो पर्वमा महिलाहरूले मुख्य रूपमा अनुष्ठान गर्छन्। अनुष्ठानका केही मुख्य पक्षहरू निम्न छन्:
पूजा तयारी: बिहानै स्नान गरी पूजा स्थललाई गाईको गोबरले लिपेर सफा गरिन्छ।
कुवा (इनार)निर्माण: सानो कुवा बनाएर सात प्रकारका अन्नहरू मिसाएर सातवटैको मेल गरिन्छ।
हलको पूजा: भगवान बलरामको हतियार हलको प्रतीकका रूपमा पराल, घाँसको डाँठ र पलाशको संरचना बनाएर पूजा गरिन्छ।
व्रत: महिलाहरूले कठोर व्रत बस्छन्। खेतमा उत्पादित खाना नखाएर केवल पशर चामल मात्र खान्छन्।
पूजा सामग्री: प्रत्येक सन्तानका लागि छवटा माटोको भाँडामा अन्न राखेर पूजा गरिन्छ।

यो पर्वले सन्तानको कल्याण, समृद्धि र कृषिमा समृद्धिको कामना गर्दै भक्तहरूले भगवान बलरामको विशेष पूजा-अर्चना गर्छन्। यो पर्वले हिन्दू संस्कृति र कृषक समुदायको गहिरो सम्बन्धलाई झल्काउँछ।
