
विराटनगर, २५ साउन २०८२ – नेपाल अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रूपमा मनाउन सम्पूर्ण तयारी पूरा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा इस्कोनका सचिव भानुभक्त जोशीले महोत्सवको तयारी सम्पन्न भएको जानकारी दिँदै सनातन धर्म र संस्कृतिको संरक्षणका लागि उल्लेखनीय भक्तजनको सहभागितामा कार्यक्रम आयोजना गरिने बताए।


महोत्सव कृष्ण अष्टमीका दिन बिहान मङ्गल आरतीबाट सुरु हुनेछ। दिनभर धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता, बालबालिकामुखी प्रस्तुति, कीर्तन, कथा, यज्ञ, बालकृष्ण झाँकी प्रदर्शन, नृत्य प्रतियोगिता र ‘मटकी फोड’ जस्ता आकर्षक गतिविधि सञ्चालन हुनेछन्। साँझमा आरतीपछि भजनकीर्तन र मध्यरातमा श्रीकृष्ण जन्मोत्सव तथा महाअभिषेकको विशेष कार्यक्रम आयोजना गरिने जोशीले बताए।
कार्यक्रममा इस्कोनका वरिष्ठ आध्यात्मिक गुरु, भक्तिवेदान्त गुरुकुलका अध्यक्ष, विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अतिथि, स्थानीय जनप्रतिनिधिसहित २० हजारभन्दा बढी भक्तजनको सहभागिता अपेक्षित छ। आयोजकका अनुसार यो महोत्सवको उद्देश्य नेपाली समाजमा धार्मिक र सांस्कृतिक चेतना फैलाउने, युवापुस्तामा शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने तथा कृष्ण भक्तिमार्फत मानवीय मूल्य र नैतिकताको विकास गर्ने रहेको छ।
– रासस
