
जनै पूर्णिमा र रक्षाबन्धन, / प्रा.डा. देवमणि भट्टराई

नेपालगन्ज, २४ साउन २०८२ – श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने जनै पूर्णिमा र रक्षाबन्धन पर्व आज बाँके,नेपालगन्ज लगायत देशभर धार्मिक विधि–विधानसहित हर्षोल्लासका साथ मनाइँदै छ। वैदिक सनातन धर्मावलम्बीहरूले यो पर्वलाई विशेष श्रद्धा र भक्तिका साथ मनाउने गर्छन्। यो दिन तागाधारीहरूले जनै फेर्ने, ऋषितर्पण गर्ने र रक्षासूत्र बाँध्ने परम्परा रही आएको छ।

जनै पूर्णिमा वा श्रावणी पूर्णिमाको दिन ब्राह्मण, क्षेत्री लगायतका तागाधारीहरूले गणस्नान, ऋषिपूजन, ऋषितर्पण, उपाकर्म र यज्ञोपवीत (जनै) धारण गर्ने विशेष कर्म सम्पन्न गर्छन्। शास्त्रीय विधिअनुसार तयार गरिएको जनैमा वैदिक मन्त्रद्वारा ब्रह्मा, विष्णु, रुद्र र तन्तुदेवताहरूलाई अभिमन्त्रण गरी पवित्र बनाइन्छ। यो जनै धारण गर्नाले वर्षभरिका अनाचार, दुष्कर्म र दुष्परिणामको प्रायश्चित्त हुने विश्वास छ।

गणस्नानको विशेष महत्व छ, जसमा पञ्चगव्य, भस्म, मृत्तिका र अपामार्गजस्ता पवित्र वस्तुले शरीरमा लेपन गरी सामूहिक स्नान गरिन्छ। यो स्नानले कायिक, वाचिक र मानसिक पापको प्रायश्चित्त हुने मान्यता छ। गणस्नानपछि सप्तऋषि (कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ठ, विश्वामित्र र अरुन्धती) को पूजा, रुद्राभिषेक र यज्ञोपवीत अभिमन्त्रण गरिन्छ।

यही दिन रक्षासूत्र बाँध्ने परम्पराले यो पर्वलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ। रक्षासूत्रमा वैदिक मन्त्रद्वारा देवताहरूलाई आह्वान गरी हातमा बाँधिन्छ, जसले व्यक्तिलाई नकारात्मक शक्ति र आसुरी प्रवृत्तिबाट जोगाउने विश्वास छ। पौराणिक कथनअनुसार, सत्य युगमा देवराज इन्द्रलाई रक्षासूत्रको प्रभावले दैत्यराज वृत्तासुरमाथि विजय प्राप्त भएको थियो। त्यस्तै, राजा बलिलाई रक्षासूत्रले बाँधिएको प्रसंगले पनि यो परम्पराको महत्व दर्शाउँछ।

यसैगरी ऋषितर्पण यो पर्वको अर्को महत्वपूर्ण पक्ष हो। गुरुबाट प्राप्त वेदादि शास्त्रीय ज्ञानलाई ताजा राख्न र नयाँ ज्ञानको आविष्कारका लागि ऋषितर्पण गरिन्छ। कात्यायनादि शाखासूत्रका ऋषिहरूलाई तर्पण गरी कृतज्ञता व्यक्त गरिन्छ, जसले अध्ययन, बुद्धि र तेजस्वितामा वृद्धि हुने विश्वास छ।

यस्तै यसै दिन नयाँ जनै धारण गर्नुअघि संकल्प गरी वैदिक मन्त्रद्वारा अभिमन्त्रित जनै हातमा लिएर विशेष मन्त्र पढिन्छ। पुरानो जनैलाई पवित्र ठाउँमा राखेर कम्तीमा १०, १०८ वा १००८ पटक गायत्री मन्त्रको जप गरिन्छ। जनैमा ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वेदेवाको पूजा गरिन्छ।

जनै पूर्णिमा र रक्षाबन्धनले धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक एकताको सन्देश पनि बोकेको छ। यो पर्वले व्यक्ति, परिवार र समाजमा आपसी प्रेम, सुरक्षा र सद्भावको भावना जागृत गर्छ। देशभरका मन्दिर, नदी र जलाशयहरूमा भक्तजनको भीड लाग्ने यो पर्वले सनातन धर्मको गहिरो महत्वलाई झल्काउँछ।
