
नेपालगन्ज, २२ साउन २०८२ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ र २२ मा अवस्थित कान्तीतालको संरक्षणका लागि स्थानीय समुदाय र वातावरणप्रेमी संस्थाहरूले सशक्त अभियान सुरु गरेका छन्। जैविक विविधता र स्थानीय जलवायु सन्तुलनको प्रमुख स्रोत मानिएको यो ताल अतिक्रमण, फोहोरमैला व्यवस्थापनको अभाव र संस्थागत बेवास्ताका कारण संकटमा परेको भन्दै “Clean Nepalgunj, Green Nepalgunj” अभियानले मेयर प्रशान्त विष्टलाई जनमतसहितको ज्ञापनपत्र बुझाएको छ।
डा. विनोद कर्णको नेतृत्वमा सञ्चालित अभियानमा स्थानीय सर्वसाधारणबाट राय, सुझाव र सयौं हस्ताक्षर संकलन गरी तयार पारिएको ज्ञापनपत्र मंगलबार मेयर विष्टलाई हस्तान्तरण गरिएको हो। Nepalgunj Gallery, Friends for Wildlife Conservation, Imagination Nepalgunj र Bird Conservation Nepal जस्ता संस्थाहरूको संयुक्त समन्वयमा यो अभियान सञ्चालित छ।
कान्तीतालको संकट र अभियानको चेतावनी
अभियानले कान्तीतालको तत्काल संरक्षण नगरेमा तालको जैविक तन्त्र पूर्णरूपमा नष्ट हुने, जलचर, स्थलचर र चराचुरुङ्गीको बासस्थान लोप हुने, स्थानीय जलस्रोत सुक्ने र वातावरणीय असन्तुलनले जनस्वास्थ्य, कृषि र जनजीवनमा दीर्घकालीन असर पर्ने चेतावनी दिएको छ। डा. कर्णले भने, “कान्तीतालको संरक्षण कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन, यो हाम्रो समाज, स्थानीय सरकार र भावी पुस्ताप्रतिको साझा उत्तरदायित्व हो।”
अभियानका प्रमुख मागहरू
ज्ञापनपत्रमार्फत अभियानले निम्न मागहरू राखेको छ:१ – ताल वरपरका सबै अतिक्रमण तत्काल हटाइयोस्।
२ – फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान लागू गरियोस्।
३ – स्थानीय समुदायको नेतृत्व र सहभागिता सुनिश्चित गरियोस्।
४ – तालको २४सै घण्टा निगरानीका लागि सुरक्षागार्डको व्यवस्था गरियोस्।
५ -तालको सीमा निर्धारण गरी संरक्षित क्षेत्र घोषणा गरियोस्।
स्थानीय समुदाय र वातावरणप्रेमी संस्थाहरूको सक्रियताले कान्तीतालको संरक्षणमा नयाँ आशा जगाएको छ। यो अभियानले स्थानीय सरकारलाई तालको संरक्षणमा ठोस कदम चाल्न दबाब सिर्जना गरेको छ। अभियानका संयोजक डा. कर्णले यो पहलले नेपालगन्जलाई हरियाली र स्वच्छ शहर बनाउने दीर्घकालीन लक्ष्यलाई सघाउने विश्वास व्यक्त गरे।






