जगत ज्योति मा.वि.मा नयाँ चार कोठे भवनको, मेयर विष्टले गरे उद्घाटन

संवाददाता
संवाददाता

नेपालगन्ज, २१ साउन २०८२ बुधबार

नेपालगन्ज उपमहानगरपालिका–२० मा अवस्थित जगत ज्योति माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रको बजेट र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा निर्माण भएको यो भवनले विद्यालयको शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ, शिक्षक, अभिभावक, पत्रकार र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ भवनको निर्माणलाई विद्यालयको शैक्षिक विकासमा कोसेढुंगा भएको बताए।

विद्यालयका प्रधानाध्यापक ईश्वर पौडेलले भवन निर्माणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै व्यक्ति र संस्थाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा गरे। उनले भने, “यो भवन केवल चार कोठामा सीमित छैन, यो हाम्रो विद्यालयको गुणस्तरीय शिक्षातर्फको ठूलो फड्को हो। यसले विद्यार्थीहरूलाई सुरक्षित र सुसज्जित कक्षाकोठा प्रदान गर्नेछ भने शिक्षकहरूको शिक्षण कार्यमा समेत सहजता ल्याउनेछ।”

नयाँ भवनले विद्यार्थीहरूलाई सफा, सुरक्षित र सुविधायुक्त अध्ययन वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। विद्यालय परिवारले भवनको संरक्षण र सदुपयोग गरी भावी पुस्तालाई बलियो शैक्षिक आधार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।


उद्घाटन समारोहमा उपस्थित मेयर प्रशान्त विष्टले विद्यालयको पहल र शैक्षिक विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताए। कार्यक्रममा सहभागी सबैले भवन निर्माणको सफलताप्रति खुशी व्यक्त गर्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गरे।

Leave a Comment

सम्बन्धित खबर