
नेपालगन्ज, २१ साउन २०८२ बुधबार। रक्षाबन्धन पर्व आगामी ९ अगस्त २०२५ (शनिबार २४ साउन २०८२) मा नेपालगन्जमा धुमधामका साथ मनाइने भएको छ। यो पर्वलाई लिएर नेपालगन्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मका बजार र उपमहानगरपालिकाका विभिन्न चोकचौराहामा रहेका पसलहरूमा चहलपहल बढेको छ। बजारहरू रंगीचंगी राखी र उपहारका सामग्रीले सजिएका छन् भने किनमेल गर्नेको भीड पनि बढ्दै गएको छ।

बहिनीहरूले आफ्ना दाजुभाइका लागि आकर्षक राखी किनिरहेका छन् भने दाजुभाइहरू पनि बहिनीका लागि उपहार खरिद गर्न बजार पुगिरहेका छन्। यस वर्ष बजारमा विभिन्न प्रकारका राखी उपलब्ध छन्। रामचरण पादुका, धनुष, हनुमान, खाटु श्याम, रुद्राक्ष र जरीका राखीहरू विशेष रूपमा लोकप्रिय छन्। बालबालिकाका लागि भने लाइटिङ र कार्टुन डिजाइनका राखीको माग अत्यधिक छ।
नेपालगन्जको मुख्य बजार त्रिभुवन चोकका व्यापारी विश्वनाथ पटवाले रक्षाबन्धन नजिकिँदै गर्दा बजारमा राखीको किनमेल तीव्र भएको बताए। उनले भने, “रक्षाबन्धनमा अब जम्मा ३ दिन बाँकी छ। बजारमा २० रुपैयाँदेखि २०० रुपैयाँसम्म र त्योभन्दा माथिका राखीहरू उपलब्ध छन्। राखीको डिजाइन र मूल्य फरक-फरक छ।” गत वर्षको तुलनामा यस वर्ष राखीको मूल्य १० देखि १५ प्रतिशतले बढेको उनले जानकारी दिए।
रक्षाबन्धनको यो उत्साहले नेपालगन्जको बजारमा पर्वको रौनक छाएको छ। दाजुभाइ र बहिनीबीचको प्रेम र स्नेहको प्रतीक यो पर्वले बजारको व्यापारलाई पनि थप गति दिएको छ।
