
नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेबाट आर्थिक वर्ष २०८१–०८२ मा १० करोड बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा गण र मातहतका सशस्त्र प्रहरी कार्यालयले १० करोड १६ लाख ४५ हजार ४६८ रुपैयाँको अवैध भन्सार छलीका सामग्री बरामद गर्दै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

उक्त अवधिमा सशस्त्र प्रहरीले ६ लाख ८८ हजार ७३० रुपैयाँ बराबरको अवैध काठ बरामद गरेर डिभिजन वन कार्यालय नेपालगञ्जमा बुझाएको छ भने आर्थिक बर्ष २०८१÷०८२ को अन्तिमसम्ममा ५८ लख १० हजार २६९ रुपैयाँ बराबरको बोइलर कुखुरा, माछा, दुध, अण्डा, चल्ला बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद १० लाख १२ हजार ९२५ रुपैयाँ बरामद गरी भन्सार कार्यालय बुझाएको जनाएको छ । यसै दौरानमा सशस्त्र प्रहरीले ४४ जनालाई नियन्त्रण लिएको जनाएको छ । सशस्त्र प्रहरी नम्बर ३० गण बाँकेका अनुसार त्यस अवधिमा खजुरा गाउँपालिका १ बहादुरपुरबाट एक थान भरुवा बन्दुक बरामद गर्दा अवैध ओसारपसारमा प्रयोग भएका ३ वटा गाडी, ३८ थान मोटरसाइकल र ५ वटा अटोरिक्सा बरामद गरिएको थियो ।
यस्तै सशस्त्र प्रहरीले बाँकेभर ११० पटक जनचेतनामूलक कार्यक्रम गर्दै ४८ पटक जिल्लाको विपद् घटनाको उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
