
पत्रकार आचारसंहिता उल्लङ्घन र मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभाग र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा आज भएको ‘अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले त्यस्तो कुरामा जोड दिएका हुन् ।
नेपाल पत्रकार महासङ्घका सचिव तथा विभागका प्रमुख रमेश खतिवडाको अध्यक्षता तथा महासङ्घका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार र मिडिया हेर्ने एकीकृत कानुन जरुरी रहेको भन्दै उनीहरूले नत्र भविष्यमा सबै पत्रकार र मिडियाले मुद्दा खेप्न बाध्य हुनुपर्ने बताएका थिए ।
त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पछिल्ला केही मुद्दाहरूको बहसमा महासङ्घको तर्फबाट सहभागी हुँदै गर्दा राज्यले मिडियालाई विभिन्न बहानामा कडाइ गर्न खोजिएको देखिएको बताए । पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्ने कार्य गरिएकोले समस्या उत्पन्न भएको भन्दै उनले मिडिया र मिडियाले प्रकाशन गर्ने कन्टेन्टका विषयमा समस्या उत्पन्न भएमा त्यसको उजुरी लिने र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई नै जिम्मेवार बनाउनुपर्ने बताए ।
‘पत्रकार र मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्ने हो । काउन्सिलद्वारा नै उजुरी लिएर आवश्यक प्रक्रिया अगाडि बढाउने हो । तर पछिल्लो समय मिडियामाथि लगातार मुद्दा र उजुरी पर्दै आएको देखिन्छ’, अध्यक्ष शर्माले भने, ’हामीसँग उपयुक्त कानुनको अभाव पनि छ । विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारको मुद्दा हेर्दा अहिले सबैभन्दा बढी पत्रकार मारमा परेका छन् । त्यसैले पत्रकार र मिडियाको मुद्दा हेर्नका लागि एकीकृत कानुनको आवश्यकता छ । जसमा सबैभन्दा बढी काउन्सिललाई जिम्मेवार बनाउनुपर्छ ।’
अध्यक्ष शर्माले पत्रकार आचारसंहिता सबै पत्रकारले पालना गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारले आफ्नो दायित्वलाई ध्यान दिँदै जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा ’अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता पालना’ विषयमा प्रस्तुति दिँदै वरिष्ठ सम्पादक हरिबहादुर थापाले ब्रेकिङ र क्लिकबेटका कारणले डिजिटल प्लेटफर्मका सम्पादकहरू समेत बढी जोखिममा रहेको बताए ।
क्लिकबेट र भाइरलका कारणले असन्तुलित कन्टेन्टले बढी चर्चा पाए । समाचार कम सूचना मात्रै बढी भयो । सम्पादनको चरण निकै कम भयो । एक दिनमा धेरै समाचार दिनुपर्ने, छिटो दिनुपर्ने दबाबमा हामी छौँ’, ’, थापाले भने, ’त्यसैले हामीले सूचना मात्रै दिइरहने अवस्था बन्यो । समाचार नै जान छाड्यो । न्युज रुमको डेस्कलाई हामीले संवेदनशील बनाउन आवश्यक छ ।’
कतैबाट दिइएको सूचना कुन समयमा र के उद्देश्यले दिइएको छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । आचारसंहिता उल्लङ्घनको विषय अहिले उजुरी हुँदै अदालतसम्म जाने अवस्था सिर्जना भएको भन्दै उनले मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्नुपर्ने उनले बताए । यस विषयमा नेपाल पत्रकार महासङ्घ आफैले पनि हेर्न सक्ने उनको भनाई थियो ।
त्यस अवसरमा ‘अनलाइन सञ्चारमाध्यम र पत्रकार आचारसंहिताको अवस्था’को विषयमा प्रस्तुति दिँदै राजेश राईले पत्रकार र मिडियामाथि पछिल्लो समय राज्यले गरेको व्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको बताए ।
‘संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तर पछिल्लो समय राज्यले पटक–पटक पत्रकारमाथि विभिन्न बहानामा मुद्दा चलाउने कार्य गरेको छ । नेपाल प्रेस र बिजमाण्डुमाथि अदालतले जुन कार्य गर्यो त्यो नै नेपाली मिडियाको नाडी छामेको जस्तो लाग्छ’, उनले भने, ’पछिल्लो समय शम्भु श्रेष्ठमाथि कर्मचारीले लेखेको प्रतिवेदनका आधारमा मुद्दा चलाइएको छ । दिलभुषण पाठकले सरकारमा रहेका व्यक्तिको बारेमा प्रश्न उठायो भनेर मुद्दा चलाइयो । यो विषयमा विभिन्न कुरा आएका छन् । तर सार्वजनिक पात्र र व्यक्तिगत विषय फरक हुनुपर्छ । किनभने सार्वजनिक पात्र जबाफदेही हुनुपर्छ ।’
प्रहरीले पक्राउ गरी जारी गरेको विज्ञप्तिका आधारमा समाचार बनाएर प्रकाशित गर्दा पनि उजुरी गरिएको र समाचार हटाउन दबाब दिइएको उनले बताए । ‘पत्रकार र मिडिया हेर्ने एकीकृत कानुन जरुरी छ । नत्र सबै पत्रकार र मिडियाले मुद्दा खेप्न बाध्य हुनेछन्’, राईले भने, ’प्रेस काउन्सिलको पत्रकार आचारसंहिताले पोस्ट डिलिट गर्न नहुने भन्ने व्यवस्था गरिएको छ । तर जसले उजुरी गर्छ त्यसको पहिलो माग नै पोस्ट डिलिट गर्नुपर्ने भन्ने हुँदो रहेछ ।’
त्यस अवसरमा प्रेस काउन्सिल नेपालका निमित्त मुख्य अधिकृत दीपक खनालले पत्रकार आचारसंहिता उल्लंघनको विषयमा प्रस्तुति दिँदै न्यु मिडियाका कारण भाइरल, प्रचारमुखी र क्लिकबेटको प्रचलन बढेकोले धेरै समस्या उत्पन्न भएको बताए ।
‘टिआरपी र भ्युअर वृद्धि गर्न जस्तो पनि सूचना प्रकाशन गर्ने गरिएको छ । आपराधिक मनोवृत्ति र पृष्ठभूमि भएका व्यक्तिलाई मिडियामा ल्याएर उनका कुरा राख्न दिने गरिएको छ’, उनले भने, ’आचारसंहिताका सन्दर्भमा गम्भीर भएको पाइँदैन । यसो भन्दै गर्दा सबै खराब छन् भन्ने पनि होइन । तर समस्या बढ्दै गएको देखिन्छ ।’
