
नेपालगन्ज , ५ साउन २०८२ – आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। विशेषगरी बोलबम काँवरिया यात्राले साउनको रौनक थपिएको छ। हिन्दू धर्मावलम्बीहरूले यो पवित्र महिनामा हरेक सोमबार चोखो पानी लिएर शिवालयमा अर्पण गर्ने र शिवको पूजा–आराधना गर्ने परम्परालाई बोलबम भनिन्छ।


देशका विभिन्न भागमा बोलबम यात्रा उत्साहका साथ सुरु भएको छ। नेपालगन्जको बागेश्वरी स्थित जुँगेश्वर महादेव राप्ती सिधनियाघाट, बाके गाउँको शिवालय लगायत जिल्लाको हरेक शिव मन्दिर ,शिवालयहरुमा जल अर्पण गर्ने गरिएको एक भक्त गौरव जयसवालले बताए ।

यसैगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बोलबम मेला भर्न नेपालका विभिन्न क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजनहरू आएका छन्। निश्चित समूह बनाएर पानीको मुहानबाट चोखो जल लिएर शिवालयसम्म पुग्ने यो परम्पराले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ।

साउन महिनाको सोमबारलाई भगवान् शिवको प्रिय दिन मानिन्छ। विशेषगरी हिन्दू नारीहरूले दिनभर व्रत बसेर शिवको पूजा–आराधना गर्ने गर्छन्। यो व्रत र पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ। पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

बोलबम यात्रा र साउनको सोमबारले धार्मिक एकताको सन्देश बोकेको भक्तजनहरू बताउँछन्। “यो पवित्र यात्राले मन शान्त हुन्छ र भगवान् शिवको कृपाले जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ,” एक भक्त पंकज बैश्यले भने।

साउन महिनाभर हरेक सोमबार यस्ता धार्मिक गतिविधिहरूले देशभरको वातावरण भक्तिमय बन्ने गरेको छ।
