महान्यायाधिवक्ता बडालद्वारा मङ्गलप्रसाद नमूना माविको निरीक्षण, स्काउटद्वारा स्वागत

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – नेपालका महान्यायाधिवक्ता तथा नेपाल बार काउन्सिलका अध्यक्ष माननीय रमेश बडालले बाँकेको मङ्गलप्रसाद नमूना माध्यमिक विद्यालयको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा विद्यालयको स्काउट टोलीले पुष्पगुच्छा अर्पण गरी उहाँको स्वागत गरेको थियो।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ता, जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमसहित विद्यालय परिवारको उपस्थिति रहेको थियो। स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा महान्यायाधिवक्ता बडालले विद्यालयको शैक्षिक वातावरण, भौतिक संरचना र विद्यार्थीहरूको कानुनी चेतना अभिवृद्धिका विषयमा चासो व्यक्त गर्नुभयो। उहाँले न्याय र शिक्षाबीचको सहकार्यले नयाँ पुस्तालाई सक्षम र जिम्मेवार नागरिक बनाउन महत्त्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।

विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूले महान्यायाधिवक्ता बडाललाई उत्साहपूर्ण स्वागत गरेका थिए। यो निरीक्षणले विद्यालयको शैक्षिक गतिविधि र कानुनी चेतनाको प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


(मेराज सलमानीद्वारा)

Leave a Comment

सम्बन्धित खबर