
मेराज सलमानी / ४ साउन २०८२ आइतबार

नेपालगन्ज, बाँके – बाँके जिल्लामा ट्राफिक प्रहरी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई जरिवाना तिराउन तीव्र रूपमा सक्रिय देखिए पनि समग्र ट्राफिक व्यवस्थापनमा भने कमजोरी देखिएको छ।
स्थानीय बासिन्दा र सवारी चालकहरूले ट्राफिक प्रहरी चेकजाँच र जरिवाना संकलनमा केन्द्रित भएको तर ट्राफिक जाम, अव्यवस्थित पार्किङ र सवारी अनुशासन कायम गर्नेतर्फ ध्यान नदिएको गुनासो गरेका छन्।

नेपालगन्जको मुख्य बजार क्षेत्रमा सवारी चाप दिनानुदिन बढ्दै गएको छ। तर, ट्राफिक व्यवस्थापनका लागि ठोस योजना र प्रभावकारी कार्यान्वयनको अभाव रहेको स्थानीयको भनाइ छ। ट्राफिक बत्तीको कमी, सडक अतिक्रमण, अनियन्त्रित अस्थायी पार्किङ र फुटपाथको दुरुपयोगले अव्यवस्था झनै चुलिएको छ।

स्थानीय व्यापारी, टेम्पो चालक र पैदल यात्रीहरूले ट्राफिक प्रहरीलाई राजस्व संकलनमा मात्र जोड दिएको आरोप लगाएका छन्। एक सवारी चालकले भने, “नियम तोड्नेले जरिवाना तिर्नुपर्छ, यो ठीक छ। तर ट्राफिक व्यवस्थापन नहुँदा हरेक दिन जाम, झगडा र दुर्घटनाको जोखिम बढेको छ।”

यस विषयमा बाँके ट्राफिक प्रहरी कार्यालयले आवश्यक सुधार र समन्वयमा काम गरिरहेको दाबी गरेको छ। तर, स्थानीय तह, सडक विभाग र प्रहरीबीच प्रभावकारी समन्वयको अभावमा दीर्घकालीन समाधान चुनौतीपूर्ण देखिएको छ। ट्राफिक व्यवस्थापनमा सुधारका लागि ठोस पहल र सहकार्यको खाँचो रहेको स्थानीयको माग छ।
