
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे कडा आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी कम्तीमा २१ साउन २०८२ अघि पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएकाे छ ।
ऐन जारी नगरी राज्यले धोका दिएर आन्दोलनतर्फ धकेल्न खोजेको महासंघले दाबी गरेको छ । ‘अहिलेसम्मको समग्र अवस्था विश्लेषण गर्दा राज्यपक्ष फेरि नेपाली शिक्षक–कर्मचारीलाई धोका दिन र आन्दोलन तर्फ धकेल्न उद्दत रहेको प्रतीत हुन्छ । यो अवस्थाको यथाशीघ्र अन्त्य हुन जरुरी छ,’ विज्ञप्तिमा छ ।
‘यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भई अघि नबढेमा वा नेपाल शिक्षक महासंघसँग भएका सहमति विपरीत प्रबन्ध गरी अघि बढेमा महासंघ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोष गर्दछ । आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गरिनेछ,’ विज्ञप्तिमा छ ।
२०७५, २०७८, २०८० र २०८१ सालमा भएको सम्झौता अनुसार ऐन जारी हुनुपर्ने माग महासंघको छ ।
