
सर्लाही, १ साउन । पूर्वाधार विकास कार्यालय सर्लाहीले आर्थिक वर्ष २०८१/०८२ मा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्राप्त अख्तियारीअनुसार बहुवर्षीय आयोजना, उपभोक्ता समितिद्वारा सञ्चालित साल–बसाली योजना, महेन्द्र नारायण निधि विपन्न आवास योजना, जनता आवास योजना र विपन्नसँग मदन भण्डारी आवास योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरी भुक्तानी कार्य झण्डै शतप्रतिशत सम्पन्न गरेको छ ।


कार्यालय प्रमुख विजय कुमार यादवका अनुसार योजनाको अख्तियारी ढिलो प्राप्त भए पनि तत्काल कार्यान्वयन सुरु गरिएको थियो । खाताबन्दीको मिति नजिकिँदा उपभोक्ता समिति र निर्माण व्यवसायीले कागजातहरू कार्यालय समयबाहिर समेत बुझाएकाले कर्मचारीहरूले अतिरिक्त समयमा सेवा प्रवाह गरेका थिए ।

तर, यस्ता प्रयासका बीच गम्भीर अवरोधका घटना पनि भए । असार १२ गते राति कबिलासी नगरपालिका–१०, सलेमपुरका अशोक कुमार यादवले आर्थिक शाखामा अनाधिकृत प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्दै १४ फाइल, ल्यापटप र कागजातहरू लुटेर लगेका थिए । भोलिपल्ट फाइल फिर्ता गरे पनि असार १९ गते राति उनले १०–१२ जनाको समूहसहित कार्यालयमा प्रवेश गरी कर्मचारीलाई धम्की दिँदै गेटको ताल्चा तोड्ने प्रयास गरे ।

विज्ञप्तिअनुसार, ती व्यक्तिले विगतमा पनि यस्तै अवरोध सिर्जना गरेका थिए । उनले कानुनी प्रक्रिया नअपनाई घर निर्माण गरी भुक्तानी माग गरेकोमा कार्यालयले असहमति जनाएको छ । योजनाहरू प्रदेशसभा सदस्यको संयोजकत्वमा गठित समितिको निर्णयपछि मात्र कार्यान्वयन हुने प्रावधान छ ।

कार्यालयले यस्ता घटनाले कर्मचारीको मनोबल गिराउने प्रयास भएको भन्दै गम्भीर आपत्ति जनाएको छ र यस्ता कार्यलाई निन्दनीय भनेको छ ।
