सार्वजनिक स्वास्थ्यमा गम्भीर जोखिम : त्रिभुवन चोकको खानेपानी ट्यांकी

संवाददाता
संवाददाता

नेपालगन्ज, ३१ असार २०८२ – नेपालगन्जको मुटु त्रिभुवन चोकमा रहेको सार्वजनिक पानी ट्यांकी फोहोर, दुर्गन्धित र खिया लागेका धाराहरूका कारण सार्वजनिक स्वास्थ्यमा गम्भीर जोखिम बनेको छ। पञ्चायतकालमा यात्रु र नागरिकको सुविधाका लागि बनाइएको यो ट्यांकी लामो समयदेखि मर्मत र सफाइको अभावमा रोगको भण्डार बनेको छ। यद्यपि, अनजान यात्रुहरू यो अस्वच्छ पानी पिउन बाध्य छन्।

स्थानीय श्यामकुमार मिश्रका अनुसार, ट्यांकी विगत ५–७ वर्षदेखि सफा गरिएको छैन। ट्यांकीको माथिल्लो प्लेट अत्यधिक भारी भएकाले स्थानीयले सफाइ गर्न नसकेको बताएका छन्। आर्को एक स्थानीय रामगोपाल वैश्यले भने, “प्लेट यति गह्रौँ छ कि दुई–चार जनाले उचाल्न सक्दैनन्, हामीले चाहेर पनि केही गर्न सकेका छैनौँ।”

यो ट्यांकी वडा नं. ८ र ११ को सिमानामा पर्ने भएकाले दुवै वडा कार्यालयको बेवास्ताको सिकार बनेको छ। नेपालगन्ज उपमहानगरपालिकाले समेत यो समस्याप्रति कुनै चासो नदिएको स्थानीयको गुनासो छ। “फोहोर र दुर्गन्धका कारण यात्रुहरूले नाक–मुख छोप्नुपर्छ, यो अवस्थाले उपमहानगरपालिकाकै बदनामी भएको छ,” स्थानीय कृष्ण कुमारले बताए।

स्वास्थ्यविज्ञहरूका अनुसार, यस्तो फोहोर पानीको प्रयोगले झाडापखाला, आउँ, टाइफाइडजस्ता रोगहरू फैलिन सक्छ, जुन विशेष गरी यात्रु र बालबालिकाका लागि खतरनाक छ। यो ट्यांकीको दुर्दशाले सार्वजनिक स्वास्थ्यमा ठूलो जोखिम निम्त्याएको छ।

स्थानीयले उपमहानगरपालिका र वडा कार्यालयहरूलाई तत्काल ट्यांकीको सफाइ, मर्मत र नियमित साफ सफाइको व्यवस्था गर्न अनुरोध गरेका छन्। “यो केवल पानी ट्यांकीको कुरा होइन, यो हाम्रो स्वास्थ्य र सम्मानको विषय हो,” एक स्थानीयले जोड दिए।

स्वास्थ्यको लागि जोखिमपूर्ण दृश्य 

नेपालगन्ज त्रिभुवन चोकको दृश्य

Leave a Comment

सम्बन्धित खबर