पत्रकारमाथि स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको विरोध

संवाददाता
संवाददाता

वीरगन्ज, २३ असार २०८२ – नेपाल पत्रकार महासंघले पर्सा स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले पत्रकारहरूमाथि गरेको गालीगलौज र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले यस्तो कार्य प्रेसविरोधी र निन्दनीय भएको ठहर गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

महासंघ पर्सा शाखाका अनुसार, असार २२ गते स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको एक तालिममा सहभागी हुन पुगेका पत्रकारहरूमाथि अधिकृत ठाकुरले दुर्व्यवहार गरेका थिए। तालिममा चलचित्र पत्रकार संघको कार्यक्रममा भाग लिन पुगेका महासंघका शाखा कार्यसमिति सदस्य आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, र आनन्दकुमार पटेलमाथि गालीगलौज र अपमानजनक व्यवहार भएको थियो।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै भने, “कुनै पनि बहानामा पत्रकारमाथि गरिने यस्ता व्यवहार प्रेस स्वतन्त्रतामाथिको आघात हो। यस्ता कार्य निन्दनीय छन् र प्रेसविरोधी गतिविधिका रूपमा लिइन्छ।” उनले सम्बन्धित निकायलाई दोषीमाथि आवश्यक कारबाही अगाडि बढाउन र यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न आग्रह गरेका छन्।

महासंघले पत्रकारहरूको पेशागत स्वतन्त्रता र सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ। साथै, यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने भएकाले भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सचेत रहन आह्वान गरेको छ।

Leave a Comment

सम्बन्धित खबर