
नन्दलाल साहू
बर्दिया, २० असार २०८२

बर्दिया जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो वार्षिक कार्ययोजनाअनुसार निर्धारित मुद्दा फछर्यौटको लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट गरेको छ। अदालतकी सूचना अधिकारी एवं शाखा अधिकृत अमृता के.सी.का अनुसार आर्थिक वर्षको अन्तिम महिना नसकिँदै अदालतले १,५३६ मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकोमा असार १७ गतेसम्म १,६४३ मुद्दा फछर्यौट गरी १०७ प्रतिशतको उपलब्धि हासिल गरेको छ। यो अनुमानित कुल लगतको ७०.०४ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्यभन्दा उल्लेखनीय प्रगति हो बताउछिन् ।
गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८०३ र यस आर्थिक वर्षको असार १७ गतेसम्म नयाँ दर्ता भएका १,४०९ मुद्दासहित कुल २,२१२ मुद्दाको लगत रहेकोमा १,६४३ मुद्दा फछर्यौट भइसकेका छन्। हाल ५६९ मुद्दा मात्र विचाराधीन अवस्थामा छन्। गत आर्थिक वर्षमा अदालतले कुल लगतको ६२ प्रतिशत मुद्दा मात्र फछर्यौट गरेको थियो, जुन यस वर्षको तुलनामा निकै कम हो।
दुई वर्ष पुराना मुद्दा शून्य
बर्दिया जिल्ला अदालतले दुई वर्षभन्दा पुराना मुद्दा पूर्ण रूपमा फछर्यौट गरी उल्लेखनीय सफलता हासिल गरेको छ। यो उपलब्धिले अदालतको कार्यक्षमता र प्रभावकारितालाई उजागर गरेको छ।
सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी
आर्थिक वर्ष २०८१/०८२ मा बर्दिया जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी रहेको सूचना अधिकारी के.सी.ले बताइन्। सम्बन्धविच्छेदका मुद्दाहरूको वृद्धिले सामाजिक परिवर्तन र कानुनी चेतनाको विस्तारलाई पनि संकेत गरेको छ। यो उपलब्धिले बर्दिया जिल्ला अदालतको न्याय सम्पादनमा दक्षता र प्रतिबद्धता झल्काउँछ। अदालतले आगामी दिनमा पनि यही गतिलाई कायम राख्ने अपेक्षा गरिएको शाखा अधिकृत अमृता के.सी.ले बताएकी छिन् ।
तालिका आर्थिक वर्ष २०८१/०८२ को मुख्य तथ्यांक प्रस्तुत

