
काठमाडौँ । हिन्दुवादी तथा राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी छन् । 

बिहीबार सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा उनले संस्कृत भाषामा शपथ लिएकी हुन् । संस्कृत भाषामा शपथ लिने उनी एक्ली सांसद हुन् ।
यसअघि २०७९ सालको निर्वाचनपछि स्वतन्त्ररुपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका थिए । त्यसअघि कुनै पनि सांसदले संस्कृतमा शपथ लिएको संसदमा रेकर्ड थिएन । यस आधारमा संस्कृत भाषामा शपथ लिने खुश्बु दोस्रो सांसद भएकी छन् । 
ओलीले सभ्यता, संस्कृति र ज्ञानको मूल आधार नै संस्कृत भएको बताइन्। ‘तर विश्वका अमेरिकादेखि जर्मनीसम्मका मुलुकहरूले यसको महत्त्व बुझेर संरक्षण र अध्ययन गरिरहेका बेला, हामीले आफ्नै धरोहरलाई कमजोर बन्न दिएका छौं’, उनले भनिन्, ‘त्यसैले, यही यथार्थलाई उजागर गर्न, हाम्रो पहिचानप्रति गर्वका साथ उभिन, हरेक विद्यालयहरूमा फेरि पनि संस्कृतको कक्षा सुचारु गर्न र संस्कृतको संरक्षण तथा प्रवर्द्धनको सशक्त सन्देश दिन मैले संस्कृत भाषामै शपथ लिने निर्णय गरेकी हुँ।’
शपथग्रहण समारोहमा ६३ सांसदले मातृभाषामा शपथ लिएको बताइएको छ ।
स्रोत : रातोपाटी
