गाउँपालिका अध्यक्षसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीद्वारा अधिकृतमाथि हातपात

संवाददाता
संवाददाता

काठमाडौँ । गाउँपालिका अध्यक्षसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरूले पालिकामै कार्यरत अर्का अधिकृतमाथि हातपात गरेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोसहितका कर्मचारीहरूले प्रशासन सेवाका छैटौँ तहका अधिकृत अशोक कुमार यादवमाथि हातपात गरेका हुन् ।

पालिका अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले ऐन विपरीत आफ्ना निकटस्थ कर्मचारीलाई महत्त्वपूर्ण शाखाको जिम्मेवारी दिएको अधिकृत यादवले आरोप लगाएका थिए । यसबारेमा आज प्रशासन डटकममा “स्थायीलाई पाखा लगाएर करार कर्मचारीलाई महत्त्वपूर्ण शाखाको जिम्मेवारी दिए प्रमुख प्रशासकीय अधिकृतले” भन्ने हेडलाइनमा समाचार प्रकाशन भएको थियो ।

यादवका अनुसार गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अध्यक्षको कार्यकक्षमा बोलाएर स्वास्थ्य संयोजक रामजुलुम यादव, स्वास्थ्य सेवा समूहका कर्मचारी जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख जयनारायण यादव, लेखा प्रमुख संजित कुमार यादव र राम सिनेही यादवले अध्यक्षकै अगाडि कुटपिट गरेका हुन् ।

अध्यक्षको कोठामा रहेको टी–टेबल रामजुलुम यादवले आफ्नो टाउकोमा बजारेको उनले बताएका छन् । त्यसपछि सबैले मिलेर टाउको र मुखमा मुक्का प्रहार गरेको उनले बताएका छन् । उनी हाल जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत छन् । बाहिरी चोट खासै नदेखिए पनि शरीर भित्र गहिरो चोट लागेको आशंका भएपछि आफू अस्पताल आएको उनले बताएका छन् ।

उनका अनुसार गाउँपालिकाका अध्यक्ष र अन्य कर्मचारी मिलेर सिसिटिभी रेकर्ड डिलिट गरिएको छ । यसबारेमा जिल्ला प्रहरी कार्यालयमा फोनमार्फत जानकारी गराइएको तर आज उजुरी दर्ता गर्न नसकिएको र भोलि उजुरी दर्ता गर्ने उनले बताएका छन् । कुटपिटसम्बन्धी अडियो प्रशासनसँग सुरक्षित रहेको छ । यस विषयमा पालिकाका अध्यक्ष तथा अन्य कर्मचारीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । पटक-पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर