नवनिर्वाचित सांसदको शपथमा जे देखियो…

संवाददाता
संवाददाता

काठमाडौँ। पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले शपथ लिने समयभन्दा दुई घण्टाअगाडि नै भिड देखियो।

जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था संघीय संसद्‌मा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू एकै साथ प्रवेश गर्दा स्वभाविक रूपमा सबैमा चासो र आकर्षण देखियो।

गत २१ फागुनको निर्वाचनबाट निर्वाचन सांसदहरूले आज पद तथा गोपनीयताको शपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदहरुका लागि दुई घण्टाअगावै बोलाइएको थियो। सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसद अलमलमा परेर शपथ हुने समय २ बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै थिए।

मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्नेजस्तो महत्त्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट सुनिश्चित गर्ने संसद्‌मा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा पनि चासो बढेको पाइयो। भिड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसद्का मर्यादापालकलाई भ्याइनभ्याइ थियो।

जनताका प्रतिनिधिको स्वीकृतिबिना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रूपमा निर्वाचित भई आएका प्रतिनिधिहरू रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो। तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्त्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ। विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन-जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो। सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएका र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताए। उनका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ। उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो।

कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा कुनै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुगेका थिए।

सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उनीहरूलाई झन् अलमल भएको थियो। आफैँ गाडी चलाएर आएका नेता शाह शपथपछि अरुभन्दा चाँडै बाहिरिएका थिए। यसअघिको संसद्‌मा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यसपटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो।

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवनको परिसरमा पत्रकारहरुका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो। हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र शपथस्थलमा प्रवेश पाएका थिए। दर्शकदीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भुईं तलामा राखिएको ठुलो स्क्रिनमा कार्यक्रमको दृष्य देखाइएको थियो।

संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन आग्रह गरेको थियो। शपथपछि सांसदहरूलाई प्रतीक चिह्न (लोगो) र ब्याज उपलब्ध गराइएको थियो। शपथमा आएका सदस्यहरूले आफ्ना परिवारका सदस्यहरुलाई पनि ल्याएका थिए।

रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याएका थिए। सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसामा आउँदा जिज्ञासाको पात्र बनेका थिए। जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसदहरू आफ्ना वेशभूषा तथा मर्यादित पोसाकमा सजिएर आएका थिए। अपांगता भएका सांसदहरु ह्विलचेयरमा आएका थिए।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

स्रोत : नेपालन्युज

Leave a Comment

सम्बन्धित खबर