
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका सांसदको नाम टुंग्याउन आइतबार कार्यसम्पादन समिति बैठक बोलाएको छ। निर्वाचन आयोगले दिएको कोटा अनुसार प्रतिनिधि सभाका लागि सांसद सिफारिस गर्न पार्टीको बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा बस्ने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिएका छन्।

यसपटक समानुपातिकतर्फ राप्रपाले जम्मा चार सीट प्राप्त गरेकाले कसलाई संसदमा पठाइन्छ भन्ने विषयमा पार्टीभित्र र बाहिर चासो बढेको छ।

राप्रपाको महिला क्लस्टरतर्फ खुस्बु ओलीको नाम चर्चामा छ। उनलाई राप्रपाभित्र एक सवल महिला नेतृत्वका रूपमा हेरिन्छ। त्यसकारण पनि उनलाई सिफारिस गर्नुपर्ने माग व्यापक छ।
त्यस्तै, खस–आर्य क्लस्टरको पहिलो नम्बरमा भरत गिरी छन्। तर, संसदमा पार्टीका मुद्दा प्रभावकारी ढंगले उठाउन सक्ने व्यक्तिलाई लैजानुपर्ने भन्दै सोही क्लस्टरका दोस्रो नम्बरमा रहेका पुष्पराज पौडेललाई पठाउनुपर्ने माग पनि चौतर्फी रुपमा उठिरहेको देखिन्छ। उनी लामो समयदेखि राजसँस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि संघर्षरत छन्।
दलित क्लस्टरतर्फ पहिलो नम्बरमा अमर परियार रहेका छन्। उनी लामो समयदेखि राप्रपाको एजेन्डा तथा सनातन धर्मको पक्षमा खुला रूपमा बोल्दै आएका व्यक्तिका रूपमा चिनिन्छन्। समाजमा ‘सनातन धर्ममा दलित र छुवाछूतको परम्परा छ’ भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेका बेला त्यसको प्रतिवाद गर्दै आएका कारण उनलाई संसदमा लैजानुपर्ने सुझाव पार्टीभित्रबाटै उठिरहेको छ।
यसअघि पनि राप्रपाले उनलाई समानुपातिक सूचीमा राखेको थियो तर उनी सिफारिसमा परेनन्। त्यसबेला कृश्चीयन समूदायकी बिना लामालाई सांसद बनाइएको थियो, जसलाई लिएर पार्टीले निकै आलोचना खेप्नुपर्यो।
परियार लामो समय आफ्ना एजेन्डा स्थापनाका लागि पार्टीमा सक्रिय रहे पनि पारिवारिक आर्थिक कठिनाइका कारण उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका थिए। तर, यसपटक पार्टीले फेरि समानुपातिक सूचीमा राखेको र माहोल पनि राम्रै देखिएपछि उनी देश र धर्मलाई पहिलो प्राथमिकता दिँदै खाडी छोडेर नेपाल फर्की चुनावी प्रचारप्रसारमा सक्रिय भएका थिए। यसै बिषयमा पार्टीभित्रै पनि माग उठिरहेको छ,- “परियारजस्ता योद्दा देशलाई चाहिएको छ- फेरि खाँडी नपठाओस्।”
राप्रपा बैठकले आजै समानुपातिक सांसदको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा सिफारिस गर्ने तयारी गरेको सचिवालय स्रोतले जनाएको छ।
स्रोत : अनलाइनपाना
