
नेपालगन्ज / उपईडीहा / सन्तोष शुक्ल

उत्तर प्रदेश, बहराइच, २५ साउन २०८२ – रक्षाबंधनको पावन अवसरमा भारतको उत्तर प्रदेशस्थित बहराइच जेलमा बन्दीहरूलाई उनका परिजनसँग भेटघाट गराइएको छ। जेल अधीक्षक राजीव कुमार सिंहले जानकारी दिएअनुसार, शासनको निर्देशअनुरूप जेलमा रहेका करिब २५० बन्दीहरूले उनका परिजन (लगभग ६०० जना) सँग हर्षोल्लासका साथ भेट गरे। यो भेटघाटले बन्दीहरूको अनुहारमा खुशीका आँसू ल्याएको थियो।


उक्त अवसरमा उत्तर प्रदेश जिल्ला अपराध निरोधक समितिका सदस्यहरू, संरक्षक एस.पी. मिश्रा, जिल्ला उपाध्यक्ष शेर सिंह कसौधन, जिल्ला सचिव तथा जेल भिजिटर केशव कुमार मौर्या र जिल्ला सचिव विनोद कुशवाहाले जेलबाहिर आएका मुलाकातीहरूलाई मिठाई, फल, चिया र पानी वितरण गरे। साथै, उनीहरूले जेलमा रहेका सबै महिला बन्दीहरू र करिब १०० पुरुष बन्दीहरूलाई दैनिक उपयोगका विभिन्न सामग्रीहरू पनि वितरण गरे।


जेल अधीक्षक राजीव कुमार सिंहको निर्देशनमा जेलका अन्य अधिकारी र कर्मचारीहरूले यो कार्यक्रमलाई कुशलतापूर्वक सम्पन्न गराए। यो भेटघाटले बन्दी र परिजनहरूबीच भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाएको सिंहले बताए।


